राष्ट्रिय समाचार

प्रधानमन्त्री दाहालले गरे मृत्युपश्चात् अंगदानको घोषणा

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

बिज्ञापन

‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु’, सम्बोधनका क्रममा दाहालले भने ।

प्रधानमन्त्रीले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौलारोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्‍यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’

अघिल्लोपटक आफू प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गरेपनि पछि लागू नभएको सुनेकाले यता पनि ध्यान दिने बताए ।

नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य स्वास्थ्य संस्थाहरूले गर्दै आइएका छन् ।

विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थालाई मानव अंग प्रत्यारोपण केन्द्रले धेरै हदसम्म रोकेको प्रधानमन्त्रीले बताएका छन् ।

बिज्ञापन