राष्ट्रिय समाचार

कैलालीमा पहिलो केबलकार बन्ने

बिज्ञापन

टीकापुर । सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।

बिज्ञापन

कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भन्दै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।

आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ। तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ । केबलकारमा कुल १५ वटा टावर रहने छन्। आयोजनाले वातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । आयोजनाको निर्माण अवधि ३ वर्ष तोकिएको छ । आयोजनाका अनुसार कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ ।

बिज्ञापन