भारतको प्रतिबन्धपछि व्यापारीले बढाए चामलको मूल्य

काठमाडौं, साउन २६ गते। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली बजारमा देखिएको छ। निर्यातको प्रतिबन्ध लगाएको तीन हप्ता बित्न नपाउँदै २५ केजी चामलमा एक सयदेखि दुई सय रुपियाँसम्म व्यापारीले मूल्य बढाएका छन्। भारतले गत साउन ४ गतेदेखि बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको हो। अनुगमनमा पुगेका सरकारी अधिकारीले व्यापारीले मूल्य बढाएर चामल बिक्री गरेको पाइएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार उपभोक्ताको गुनासो आएपछि बजार अनुगमन गर्दा २५ किलो चामलमा डेढ सयदेखि दुई सय रुपियाँ मूल्य बढाएको पाइएको हो। प्रवक्ता भट्टराईले भन्नुभयो, “उपभोक्ताले बजारबाट चामल खरिद गर्दा धेरै ठगियौँ भनेर गुनासो गरेपछि अनुगमन गर्दा थोक बिक्रेताबाट नै बढेर आएकाले बढाउनुपरेको व्यापारी बताउँछन्।’’

थोक तथा खुद्रा व्यापारीको छाता सङ्गठनका प्रमुखसँगको छलफलमा भारतमा धानको मूल्य प्रतिकेजी तीन रुपियाँ बढेकाले नेपालमा पनि चामलको मूल्य बढेको बताएको उहाँको भनाइ छ। बजारमा नियमित अनुगमन भइरहेकाले मूल्य बढेको पाइए कारबाही हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो , “बजारमा नियमित अनुगमन भइरहेको छ। धेरै नै मूल्य वृद्धि भएको पाइए उपभोक्ता संरक्षण ऐन अनुसार नै कारबाही गरिनेछ।”
व्यवसायीले भारतबाट धान ल्याएर नेपालको मिलमा कुट्दा ढुवानी बढी लाग्ने र सात प्रतिशत धान नष्ट हुने भएकाले मूल्य केही बढाउनुपरेको व्यवसायीले बताएका छन्। यता खाद्य,किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्र श्रेष्ठले चामलको मूल्य ५० देखि १०० रुपियाँ बढेको साँचो रहेको बताउनुभयो। व्यापारीले भने भारतमा धानको मूल्य बढेकाले ढुवानी भाडा जोडेर चामल बिक्री गरेको बताएका छन्। उहाँले भन्नुभयो, “चामलको मूल्य ५० देखि १०० रुपियाँसम्म बढेको साँचो हो। भारतमा नै धानको मूल्य बढेको र नेपालमा ल्याएर कुटानी पिसानी गर्दासम्म सात प्रतिशत चामल नष्ट हुने भएकाले मूल्य थोरै बढेको हो।” तर, धेरै मात्रामा मूल्यवृद्धि भने नभएको उहाँको भनाइ छ। चामल निर्यात रोकेको भारतले धान निर्यातमा भने रोक लगाएको छैन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
