टीकापुर

वर्षामा शान्तले सुत्न पाउँदैनन् भजनीबासी

बिज्ञापन

भजनी – वर्षेनी बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ। कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ। वर्षातको समयमा भजनीबासी शान्तले सुत्न पाउँदैनन्।

बिज्ञापन

‘वर्षेनी बाढीले विस्थापित बनाउँछ। दुई–तीन महिना सडकमै बास हुन्छ,’ स्थानीय सुरेन्द्र चौधरी भन्छन्, बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ। भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउँछन्।

बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ। ‘बाढीका कारण खेत बाँझो राख्नुपरेको छ। लगाएको खेती भित्र्याउन पाइन्न। कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ,’ चौधरीले भने।

वर्षेनी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन्। ‘बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ। पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ,’ स्थानीय रीता बोहरा भन्छिन्।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउँछन्। भजनीलाई चारैतिरबाट नदीले घेरेको छ। बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ। भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ। भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ,’ नगरप्रमुख चौधरीले भने।

कैलाली– ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताइन्। पानीको निकास नहुँदा तथा जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उनको भनाइ छ। उनले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताइन्।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ। आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो।

आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताए। यस पटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन्। दुई घर बाढीले बगाएको तथ्याङ्क छ।

बिज्ञापन