राष्ट्रिय समाचार

मन्त्रिपरिषद पुनर्गठन हुँदै, माओवादीका दुईमध्ये कसको जाँदैछ मन्त्री पद ?

बिज्ञापन

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् ।

बिज्ञापन

सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो ।

माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् ।

जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी रहेको बालुवाटार श्रोतले जनाएको छ ।

मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेको चर्चा चल्ने गरेको छ । उनीमाथि कर्मचारी सरुवामा चलखेल गर्ने गरेको आरोप समेत माओवादीभित्रबाटै लागेको छ ।

कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए । तर, हटाउने भनिएकै दिन पत्नीको निधन भएकाले तत्कालका लागि उनको पद जोगिएको थियो । किराँतीले पनि काम भन्दा हल्ला बढी गरेको निस्कर्ष बालुवाटारको छ ।

बिज्ञापन