राष्ट्रिय समाचार

करोडौंको जग्गा हत्याउन दाजुले बनाए जीवित भाइको मृत्यु दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । करोडौंको जग्गा हत्याउन रुपन्देहीको तिलोत्तमामा आफ्नै दाजुले रोजगारीको लागि भारतमा रहेका भाइको मृत्यु दर्ता गराएका छन् । झूठो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाउने दाजुलाई रुपन्देही प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

तिलोत्तमा-४ सूर्योदय टोल विकास संस्थाअन्तर्गत जिके पथमा घर भई रोजगारीका लागि भारत गएका भाइ बेदुराम कंडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते वडा कार्यालयबाट इन्द्रकुमारले मृत्यु दर्ता प्रमाण पत्र बनाएका थिए ।

बिज्ञापन

इन्द्रले भाइ बेदुराम अविवाहित तथा बौद्धिक अपाङगता रहेकोले जीवित छँदा आफैँले पालनपोषण गरेको र सोही क्रममा २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजकिरियासमेत आफैँले गरिदिएको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार झूठो विवरण दिएर जीवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गराउने तिलोत्तमा नगरपालिका-४ का इन्द्रकुमारमाथि अनुसन्धान भइरहेको हो ।

रोजगारीको लागि भारतमा रहेका बेदुराम दुई वर्षपछि घर आउँदा दाजुले आफ्नो मृत्युको कागज बनाएको थाहा पाएका थिए । उनले आफू जीवित रहेको भन्दै वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि रहस्य बाहिरिएको हो । जीवितै मृत घोषणा गरिएका बेदुरामको श्रीमतीसहित २ सन्तान छन् । तर, सरकारी कागजात गराउँदा बेदुरामका दाइले बिहे नै नगरेको भनी झूठो विवरण पेश गरेका थिए ।

स्थानीयका अनुसार तिलोत्तमा-४ मा स्थायी ठेगाना रहेपनि लामो समयदेखि सैनामैनामा बस्दै आएका इन्द्रकुमारले सगोलमा रहेको जग्गा हत्याउन भाइको मृत्यु मृत्यु दर्ता गराएका हुन् । तिलोत्तमा-४ को नयाँमिलबाट पश्चिमपट्टी रहेको पुरानो सडकमा रहेको जग्गा नामसारी गर्न भाइसहितका गिरोहले उक्त कागज बनाउन सघाएका थिए । उक्त जग्गा बुबा स्वर्गीय बलिभद्र कंडेलको नाममा थियो । उक्त जग्गा बेदुरामसहित चार भाइ छोरा र आमा (बलिभद्रकी श्रीमती) को नाममा अंश लगाइसकिएको थियो । त्यसमध्ये कान्छो छोरा वेदुराम बाहेकले बुबाबाट अंश आफ्नो नाममा पारिसकेका थिए । कान्छो छोरा बेदुराम भने रोजगारीका लागि भारतमा गएका थिए । सोही मौका छोपेर हकदाबी गर्न आउनुपूर्व नै दाजु इन्द्रले वडा कार्यालयको कागज बनाएका हुन् ।

कंडेलले दिएको निवेदनमा चारजना व्यक्तिबाट सही सनाखत समेत गरिदिएपछि तत्कालीन वडाअध्यक्ष दिवाकर ढकालको रोहवरमा वडासचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए । हाल ज्ञवाली स्थानीय जनज्योति माविका सञ्चालक समिति अध्यक्ष रहेका छन् ।

वडासचिव ज्ञवालीले इन्द्रकुमारले चारजना स्थानीयको सक्कल नागरिकतासहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको बताए । वडासचिव ज्ञवालीका अनुसार कंडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सनाखत गरिदिएका छन् ।

उक्त निवेदनमा लामो समयदेखि दीर्घरोगी रहेका बेदुरामको २०७८ साल भदौ १५ गते सैनामैना रानीबगियामा कालगतिले मृत्यु भएको व्यहोरा ठीक साँचो हो, जीवित रहँदा पालनपोषण र स्याहारसुसार दाजु इन्द्रकुमारले गरेको र मृत्युपश्चात काजकिरिया समेत इन्द्रकुमारले नै गरेको कुरा ठीक साँचो हो भनी निजहरूले सनाखत गरिदिएका छन् ।

अहिले भाइ बेदुरामले आफू जीवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झूठो विवरण दिएर भाइको मृत्यु दर्ता गर्ने इन्द्रकुमारलाई हिरासतमा लिइएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

सनाखत गर्ने व्यक्तिहरूमाथि पनि अनुसन्धान थालिएको उनले जानकारी दिए ।

मृतक बेदुराम अविवाहित रहेको र इन्द्रकुमारबाहेक उनको अरु संरक्षक कोही नभएकोले मृत्यु दर्ता गरी दिन सिफारिस गर्दै आफूहरूले गरेको सिफारिस पछि फरक परे वा गलत ठहरे प्रचलित कानूनअनुसार सजायको भागीदार बन्ने भन्दै सनाखत गरिदिएका छन् । साभार–नेपाल प्रेस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।