राष्ट्रिय समाचार

अविवाहित युवतीले जन्माएको अस्पतालबाटै गायब शिशु भेटियो, डाक्टरले नै बेचेको खुलासा

बिज्ञापन

विराटनगर । विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) मोरंङको कटाहरी गाउँपालिकामा फेला परेको छ ।

बिज्ञापन

अविवाहति दम्पतीबाट जन्मिएको शिशु चिकित्सकले नै एक दम्पतीलाई बेचेको अवस्थामा जीवितै फेला पारिएको हो ।

नवजात शिशु निसन्तान दम्पतीले अस्पतालबाटै किनेका थिए । प्रहरीले नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ स्थित ४६ वर्षीया दिलमाया राजवंशीको घरमा फेला पारेको हो ।

मोरंङ प्रहरीले मंगलबार साँझ ५ः३० बजेतिर बच्चालाई फेला पारी सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ ।

‘दिलमायाका परिवारले ५० हजार रूपैयाँ तिरेर बच्चा लगेको बताएका छन् । दाहालले भने, हामीसँग ५ लाखमा बिक्री गरिएको कुरा आएको छ, । उनले ‘यस विषयमा थप अनुसन्धान भएपछि वास्तविकता पत्ता लाग्ने बताए । अहिलेसम्म बच्चा कतिमा खरिद–बिक्री भएको हो भन्ने रकमका बारेमा पुष्टि भइसकेको छैन ।’

अस्पतालबाटै बच्चा गायव पारिएको विषय बाहिरिएपछि घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए ।

प्रहरीका अनुसार दिलमायाका छोरा सूर्यनारायण र बुहारी श्यामबत्तीको बिहे गरेको १० वर्षसम्म सन्तान नभएको पाइएको छ । ‘बिहे गरेको लामो समयसम्म सन्तान नभएपछि उनीहरु बेवारिसे बच्चाको खोजीमा रहेछन् । त्यही बेला अविवाहित युवती बच्चा जन्माउन अस्पताल आइन्’, प्रहरी स्रोतले भन्यो, ‘चिकित्सक, युवतीका प्रेमी (बच्चाका बाबु) र अस्पतालमा काम गर्ने कर्मचारीसँग कुरा मिलाएर बच्चा लगेको देखिन्छ । पैसा लिएर बच्चा दिलमायाको परिवारलाई उपलब्ध गराएको पाइएको छ ।’

कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) डा. तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाई कर्मचारी सुधा राजवंशीमार्फत दिलमायाको परिवारलाई बच्चा बेचेको प्रहरीको भनाइ छ ।

उनका अनुसार पछि बच्चालाई विराट शिक्षण अस्पताल लगेर एक हप्तासम्म उपचार गराएको पनि पाइएको छ । ‘उपचारमा २ लाख रुपैयाँ खर्च भयो भनेका छन्’, दाहालले भने ।

प्रहरीले डा. तपेश्वरसँगै उनको क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी (बच्चाका बाबु) गोविन्द राई, बच्चा जिम्मा लिने दिलमाया र उनका छोरा सूर्यनारायणलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार निर्मला डा. तपेश्वरको क्लिनिकमा कार्यरत रहेर बिरामी ओसारपसार गर्ने बिचौलियाको काम गर्थिन् । बच्चा बिक्री गरेको घटनामा संलग्नता देखिएपछि निर्मलालाई पनि नियन्त्रणमा लिइएको डीएसपी दाहालले बताए ।

दिलमाया र उनका छोरा सूर्यनारायण अस्पतालसम्म बच्चा लिन गएका थिए । ‘बच्चा लिन मोटरसाइकलमा अस्पतालसम्म पुगे,’ दाहाल भन्छन्, ‘बच्चा जिम्मा लिएपछि उनीहरु घर फर्किए ।’ यो घटनामा हालसम्म ६ जना पक्राउ परिसकेको उनले बताए ।

उनका अनुसार डा. तपेश्वर र गोविन्द शुक्रबार पक्राउ परेका थिए ।

बिज्ञापन