राष्ट्रिय समाचार

महराका बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन

बिज्ञापन

काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदासमेत सरकारले पूर्वसभामुख एंव माओवादी नेता महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

महरा बाबुछोराको सम्पर्क विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग रहेको देखिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ । ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

के हो भेप प्रकरण ?
२०७९ पुस १० गते फ्लाइ दुबईको उडानबाट चिनियाँ नागरिक ली हानसोङ काठमाडौं आएका थिए । उनले आफ्नो लगेजमा ७३ वटा प्याकभित्र ७३० वटा विद्युतीय चुरोट ‘भेप’ ल्याएका थिए ।

व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भन्दै उक्त भेप अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा जफत गरियो । त्यसमै राखेर सुन ल्याइएको थियो । विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको पत्ता लगाएका थिए ।

त्यसपछि भन्सारको गोदाममा रहेका ती भेपबाट सुन झिकेर बिक्री गरिएको थियो । ९ किलो ११.५२४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको थियो । यो प्रकरणमा भन्सारका कर्मचारी नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।

उक्त सुन प्रकरणमा सीआईबीले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । काठमाडौँ जिल्ला अदालतले साउन २ गते यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

यो प्रकरणमा ९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटीमा रिहा भएका छन् भने दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।

बिज्ञापन