राष्ट्रिय समाचार

उत्तेजना फैलाउन गाई काटेर सामूहिक भोजको भिडिओ बनाउने गिरोह सक्रिय

बिज्ञापन

बिर्तामोड । पछिल्लो समय पूर्वी नेपालका केही जिल्लामा नियोजित रूपमा एउटा गिरोहले गाई गोरु काटेर सामूहिक भोज लगाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल गर्न थालेपछि प्रहरीले फरक तरिकाबाट अनुसन्धान थालेको छ ।

बिज्ञापन

यस्तो भोज खाने र भिडिओ बनाउनेहरू एउटै गिरोहका रहेको र उनीहरूको पृष्ठभूमि पनि राम्रा नरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गाई पुज्ने समुदायलाई भड्काउने नियतले यस्तो आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ ।

कोशी प्रदेश प्रहरीका अनुसार लागू औषध दुर्व्यसनी,न्यून आय भएका श्रमिक तथा उछ्रिङ्खल व्यक्तिहरूलाई लोभ्याएर त्यस्ता भोजमा लैजाने र गाई गोरुको मासु खाएको भन्दै भिडिओ बनाउने गरेको समेत पाइएको छ ।

पछिल्लो पटक आफूलाई पहिचानवादी भन्ने केही व्यक्ति र इसाई धर्मावलम्बीहरुले धरानपछि झापाको भद्रपुरमा गाई काटेर सामूहिक भोज गरेको भिडिओ उनीहरूकै सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्र रिजालले भिडिओका आधारमा उक्त ठाउँमा गएर हेर्दा गाई गोरु वा कुनै जनावर काटेको नदेखिएको बताए । सीमाक्षेत्र भएकाले भारततिरबाट मासु ल्याएर यता भोज लगाएको पनि हुनसक्ने उनले बताए ।

रिजालले भने– केको मासु खाए भन्ने देखिन्न र त्यो भिडिओ बनाउनुको उद्देश्य भनेकै अरूलाई उत्तेजित बनाउने नियत देखिन्छ । त्यस भिडिओमा देखिएका मान्छे प्रायः सबैको पहिचान भइसकेको पनि छ । तर कोही पनि सामाजिक रूपमा क्रियाशील व्यक्ति नभएकाले कुनै गिरोहले यस्तो गराइरहेको देखिन्छ ।

भद्रपुरमा सामूहिक रूपमा गाई र गोरुको मासु खाएको भन्दै उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै देशव्यापी यो अभियान चलाउन आह्वान गरेका छन् ।

गोरुको मासु खाई सांस्कृतिक क्रान्ति गरेको भन्दै सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक गरिएको भिडियो भद्रपुर –४ रंगेडाँडाको पाइएको पत्रकार प्रदीप परियारले बताए ।

पाँच जिल्लामा एकै समय सांस्कृतिक क्रान्ति गरेको सन्देश भिडियोमा लेखिएको छ । धरानको सोही प्रकृतिको कार्यलाई समर्थन गर्दै सामूहिक गोरुको मासु खाने कार्यक्रमको आयोजना गरिएको उनीहरूले बताएका छन् ।

सञ्जालमा विकिन काम्वाङ नाम गरेको फेसबुक आइडीबाट पहिलो भिडियो पोष्ट गरिएको थियो । काम्वाङका अनुसार जिल्लाका विभिन्न ठाउँबाट ७०–८० जना सहभागी भई सामूहिक रूपमा गाई गोरु कटेर भोज लगाइएको हो ।

झापा प्रहरीले उक्त भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालेको हो । भिडियो बारे थप अनुसन्धान गर्न साइबर व्यूरोमा पठाइएको छ । यस्ता भिडिओहरू बनाउनेको नियत अरू नै जनावरको मासु खाएर गाईको भन्दै समुदायको संवेदना भड्काउने रहेको प्रहरीको अनुमान छ ।

भिडियोको सत्यता र पहिलो पोष्ट गर्नेको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भारतबाट गाइको मासु ल्याइएर भद्रपुरमा भोज लगाई प्रोपोगाण्डा मच्चाएर अर्को समुदायलाई उत्तेजित पार्न खोजेको हुनसक्ने बताएको छ ।

कानूनविपरीत काम गर्नेहरूलाई कारबाहीको दायरमा ल्याइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन