राष्ट्रिय समाचार

पूर्वपश्चिम रेल मार्गको काम तीव्र

बिज्ञापन

बर्दीबास, पुस ७ गते । मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् ।   बर्दीबास–निजगढ ७० किमी र बिजलपुरा बर्दीबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । बर्दीबास–निजगढ खण्डका इन्जिनियर सुरेश साहका अनुसार यो खण्डमा अहिले बर्दीबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ । 

बिज्ञापन

यस खण्डमा पर्ने १६ वटा प्रमुख नदीमा रेलवे पुल निर्माणको काम करिब सम्पन्न भइसकेको छ भने एक सय जति साना पुल र कल्भर्टको काम पनि पूरा भएको छ । ट्र्याक बेस फिलिङ कार्यसमेत युद्धस्तरमा भइरहेको उहाँले बताउनुभयो । 

“मुआब्जा समस्या समाधानमै सात वर्ष लागेकाले काम गर्न ढिलो भए पनि अहिले निर्माण कार्यले गति लिन थालेको छ,” इन्जिनियर साहले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षका लागि यस खण्डमा ८० करोड रुपियाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । 

पूर्वपश्चिम रेल मार्गको अवधारणामा सन् २००८ देखि सुरु भए पनि डिपिआर, मुआब्जा समस्या र प्राविधिक कारणले यसअघि कामले गति लिन सकेको थिएन । विवाद समाधानपछि निर्माण कार्यले अपेक्षित गतिमा अगाडि बढेको छ । त्यस्तै मुआब्जा विवाद र जग्गा अधिग्रहणका कारण महोत्तरीको बिजलपुरामा आएर अड्केको जयनगर–जनकपुर–बर्दीबास रेलवेको काम पनि अगाडि बढेको छ । 

यस खण्डका इन्जिनियर विनोद ओझाका अनुसार अहिले नेपाल–भारत ज्वाइन्ट सर्भेले बिजलपुरा–बर्दीबास १७ किमी खण्डमा जग्गा छुट्याउने र अधिग्रहणको काम सुरु गरेको छ । निर्माणको चरणमा यो सबैभन्दा जटिल काम हो । भारतीय सहयोगमा बन्ने यस खण्डमा पुलपुलेसादेखि माटो भर्ने कार्य पनि सुरु गरिएको उहाँले जनाउनुभयो । 

“आगामी तीन वर्षभित्र बर्दीबाससम्म रेल सेवा सञ्चालन गरिसक्ने लक्ष्यसहित भारतीय पक्षले यस खण्डको टेन्डर प्रक्रिया पनि पूरा गरिसकेको छ,” ओझाले भन्नुभयो, “कामले गति लिएको छ । यही गतिमा काम अघि बढ्दै गए निर्धारित समयभित्र बर्दीबाससम्म रेल गुड्नेमा हामी आशावादी छौँ ।”  

बिज्ञापन