राष्ट्रिय समाचार

विपीको विचार बन्यो, दाइ–भाउजुको पार्टी

बिज्ञापन

काठमाडौं । यसबेला कांग्रेसका अग्रज आदर्शवादी नेता विपी कोइरालाको ११०औँ जन्म जयन्तीको मौसम चलिरहेको छ । भाषण र गोष्ठीमा विपी सम्झिइएका छन् । हरेक बर्षको भदौको अन्तिम साता नेपाली कांग्रेसले विपीको गुणगान गाएर यसरी नै औपचारिकता निर्बाह गर्दै आएको छ ।

बिज्ञापन

विपीका आदर्शलाई व्यवहारमा उतार्ने भन्दा पनि देखावटी र क्षणिक रमझम कांग्रेसको परिपाटी नै बसेको छ । विपी कांग्रेसका मात्र नेता होइनन्, समग्र नेपालीकै आदर्श नेता थिए । लोकतन्त्रको स्थापना र जनअधिकारका लागि संघर्ष गरेका स्वच्छ छविका नेता थिए विपी । दक्षिण एसियामा बेग्लै पहिचान बनाएका थिए ।

नेपाली राजनीति मात्र होइन, साहित्य क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएका थिए विपीले । लोकतन्त्रको जग बसाउने अग्रणी व्यक्तित्व थिए । विपीको निधन भएपछि नेपालको राजनीतिमा ऐतिहासिक र युगान्तकारी परिवर्तनहरु भए । राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । एकतात्मक राज्य व्यवस्थाको बदलामा संघीय शासन प्रणालीको शुरुवात भएको छ । राजनीतिमा नयाँ नयाँ नेतृत्वको उदय भएको छ । जे जति परिवर्तन भए पनि विपी विचारको सान्दर्भिकता घटेको छैन, बरु बढ्दै गइरहेको छ ।

तर विपीको पौरखले स्थापित भएको नेपाली कांग्रेसले आजका दिनसम्म एकाध कार्यक्रमहरु गरेर कर्मकाण्ड त पुरा गरेको छ, तर आज आफु कुन धरातलमा छु भनेर आत्मसमीक्षा गर्ने फुर्सद छैन । जतिबेला विपी कोइराला नेतृत्वको कांग्रेस थियो– जनताको आकर्षण थियो, आशा र भरोसा थियो ।

कांग्रेस नेपाली राजनीतिको मियो थियो । अन्तर्राष्ट्रिय मञ्चमा बेग्लै पहिचान थियो । तर अहिलेको कांग्रेस, चमक हराएको, विचार सकिएको, बूढो रुखमा परिणत हुन पुगेको छ । लोकतन्त्रको पाठ कम्युनिष्टसँग सिक्नुपर्ने अबस्थाबाट कांग्रेस गुज्रेको छ । कांग्रेस कस्तो पार्टी ? कस्को पार्टी भन्ने प्रश्नहरुको घेरामा छ ।

कांग्रेसभित्र नेतैपिच्छे चरम गुटबन्दी छ । व्यक्तिवाद छ । कांग्रेसमा नातावाद, कृपावाद, पत्नीवाद र चाकडीवाद आदर्श बन्न पुगेको छ । विपीको आदर्शलाई अवसरवादीले निलेका छन् । अझै यसभन्दा ठूलो कुरा दलाल, बिचौलिया भ्रष्टाचारी र धनवादमा कांग्रेस चुर्लुम्म छ ।

कांग्रेसको यो हाल हुनुमा ठूला नेतादेखि टोले नेतासम्मको उत्तिकै भूमिका छ । जिम्मेवारी लिन भने आजका दिनसम्म कोही तयार देखिँदैन । जवाफदेहिता बहन गर्न कोही कसैको अघि बढ्ने इच्छा देखिँदैन । अरुतिर चोर औँला ठड्याएर धारे हात लगाउनु कांग्रेसजनको दैनिकी बन्न पुगेको छ । चोरहरुको बीचमा साधु बन्ने अनौठो प्रतिस्पर्धा चलिरहेको छ ।

वास्तवमा, विपीको लोकतन्त्रप्रतिको आस्था र विश्वासले नै कांग्रेस झाँगिएको थियो । विपीको प्रतिस्पर्धात्मक राजनीतिप्रति लगाव थियो । कांग्रेसले भनेको समाजवाद भनेको के हो ? यो समाजवादी व्यवस्थामा कसरी पुगिन्छ ? भनेर कोही कांग्रेसजनहरु बताउन सक्ने हैषियतमा छैनन् । विपीको समाजवादी दर्शनले लोककल्याणकारी राज्यको वकालत गर्छ । समाजका शोषित, पीडित जनताको लागि सामाजिक सुरक्षा, समानता र संरक्षणको कुरा गर्छ ।

बिज्ञापन