आस्था /आध्यात्म

थारु बहुल क्षेत्रमा अटवारी पर्वको रौनक सुरु

बिज्ञापन

देउखुरी, भदौ ३० गते । थारु समुदायमा मौलिक पर्व अटवारीको रौनक सुरुभएको छ । लुम्बिनी प्रदेश सरकारले ३१ गते आइतबारका लागि दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

बिज्ञापन

थारु पुरुषहरूले मुख्यगरी व्रत बसी मनाइने अटवारी पर्व थारु समुदायको महान् पर्व हो । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति) मा दर खाने गरिन्छ । आइतबार दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगोको प्रयोग गरिन्छ । 

यो आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन रहेको थारु अगुवाहरूको भनाइ छ । आज शनिबार राति दर खाएपछि आइतबार दिनभरि व्रत बस्ने सो समुदायमा परम्परा छ । साँझ अटवारी परिकार खानुअघि आफ्ना दिदीबहिनीका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारीमा रोटी, केरा, अम्बा, काक्रो, फलफूल, सर्वत र दही खाने गरिन्छ । 

अटवारीको भोलिपल्ट सोमबार बिहान नुहाएर खाना पकाउन सुरु गरिन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफ्नो खानाबाट अग्रासन वा केही भाग छुटाउँछन् । सोही दिन अथवा सोमबार विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।

खासगरी पश्चिम तराईका थारु समुदायले अटवारी पर्व धूमधामका रूपमा मनाउँछन् । पूर्वका थारु समुदायले यसै पर्वलाई रैव पर्वको रूपमा मनाउने गर्छन् । खासगरी सूर्य भगवान् र महाभारतका एक मुख्यपात्र भीम (भेवाँ), पाँच पाण्डवको पूजागरी अटवारी पर्व मनाइने गरेको थारु अगुवाहरूको भनाइ छ । 

बिज्ञापन