स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग बालापुर (कपिलवस्तु) द्वारा सरसफाई सम्पन्न

बिज्ञापन

बालापुर (कपिलवस्तु), ३० भाद्र । सन्त निरंकारी सत्संग भवन बालापुरको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ बालापुर नगर सरसफाई बालापुर तथा छिमेकी राष्ट्र भारत बर्नीका सन्तहरुद्वारा नगरको सरसफाई उत्साहका साथ सम्पन्न भएको स्थानीय सन्त बुन्देश्वर चौहानले मालिका समाचारलाई बताएका छन् । करिब १०० जना सन्तहरु सहभागी रहेको उक्त सरसफाई अभियानमा सडक छेऊ तथा नाला सरसफाई गरिएको थियो । वर्तमान अवस्थामा देश व्यापि डेङ्गु, मलेरिया, टाईफाईड, आँखा पाक्ने रोग लगायत अनेकौं सरुवा रोगहरुको संक्रमण फैलिरहेको अवस्थामा त्यसबाट स्थानीय नागरिकहरुको स्वास्थ्य सुरक्षा हेतु नगर सरसफाई गरिएको बुन्देश्वर बताउँछन् ।

‘प्रदुषण भित्र होस वा बाहिर, दुबै हानिकार हुन्छ’ भन्ने ब्यानरका साथ आफ्नो ठाउँको आफै सरसफाई गरौं भन्ने आम मानिसमा जनचेतना जागृतिको लागि एउटा ¥याली पनि निकालिएको थियो । उक्त सरसफाई अभियानमा पुरुष, महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । बिहान ११ देखि १२ बजेसम्म बालापुर चौकदेखि बालापुर वडा कार्यलयसम्म करिब ७०० मिटर सडक छेऊ र नालाको सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रम पछि सत्संगको पनि आयोजना गरिएको थियो ।

स्थानीय सन्त तथा समाजसेवी बुन्देश्वर चौहानको घरमा आयोजित सत्संगलाई सम्बोधन गर्दै राजेन्द्र गौतमले मानवको चोला भनेको अमूल्य चोला हो । यो बारबार पाईदैन । भगवानले मानव योनि ईश्वर परमात्मालाई पाउनको लागि दिनु भएको हो तर आजको मानव खानु, पिउनु, सुत्नु र यश–आराममा नै आफ्नो अमूल्य योनि खर्चि रहेको छ । यदि हामी यस योनिमा निराकार परमात्मालाई जान्न सक्यौ भने हाम्रो जीवन सधैंको लागि सुखी–आनन्दित हुने छ । बारबार चौरासी लाख योनिमा जन्म लिनु पर्ने छैन । त्यसैले हामीले आफ्नो मूललाई जान्नु जरुरी छ, हामी कहाँबाट आएका हौं र कहाँ जानु पर्ने छ आदि कुराको ज्ञात हुनको लागि निराकार परमात्मालाई जान्नु नितान्त आवश्यक छ, उहाँले बताउनु भयो ।

आज सत्गुरु माता सुदीक्षा जी महाराजले संसारका मानवहरुलाई जागृत गर्नको लागि दिनरात लागि पर्नुको भएको छ । देश विदेशमा विश्व कल्याण यात्रा गरिरहनु भएको छ । यदि यस मानव योनिमा पनि हामीले आफ्नो आत्माको पति परमात्मालाई जानेनौ भने अरु कुनैपनि योनिमा परमात्मालाई जान्न नसकिने कुराको जिकिर गर्नुभयो ।

उहाँले संसारका सबै मानव निरंकारी हुन तर उनीहरुले केवल निराकारलाई मात्र जानेका छैनन्, जाने पछि स्वतः नै निरंकारी हुने छन् । निराकार हामी भित्र छ, हामी निराकार भित्र छौ यस कुराको बोध केवल सत्गुरुको शरणमा आएपछि मात्र हुन्छ उहाँले स्पष्ट गर्नुभयो ।

कार्यक्रममा रामशरण, रामनारायण, राधिका, साधिनी, रेखा, जगदम्बा, बनारसी, फारसी, सुखै दास, बब्लु, चौहान, कृष्ण कुमार, बीरेन्दर, बुन्देश्वर चौहन, शिव प्रसाद आदि सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजु चौरसीयाले गरेका थिए ।

बिज्ञापन