राष्ट्रिय समाचार

अमेरिका हिँडेका नेपाली ५ महिनादेखि फिलिपिन्समा बन्धक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं –  ‘बाबा! मलाई एउटा साइकल किनिदिनुस् न। साथीहरूको बाबाले केके किनिदिनुहुन्छ।

मलाई साइकल मात्र चाहिएको हो बाबा !’ फिलिपिन्समा पाँच महिनादेखि बन्धक संखुवासभाका टासी शेर्पा छोरीका यिनै शब्द सम्झीसम्झी भक्कानिन्छन्, ‘छोरीले के नै मागेकी थिइन् र? त्यही साइकल नकिनीकन मैले अमेरिका जाने प्रलोभनमा परेर दलाललाई ३५ लाख बुझाएँ।’

बिज्ञापन

आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ। अहिले भर्‍याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन। दिन हो कि रात, थाहा हुन्न।’

उनी नेपालमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। मलेसियामा १६ वर्ष पसिना चुहाएर कमाएको पैसा स्वाहा भएको उनले बताए। उनी वैशाखमा मात्र अमेरिका जाने भन्दै घरबाट निस्किएका थिए। त्यसअघि काठमाडौंमा बस्दा एक दिन ‘पठाओ’ चढेका बेला पठाओवालाले ‘अमेरिका जाने?’ भनी सोधेको उनले बताए।

आफूसँग अमेरिका पुर्‍याउने मान्छे चिनजान भएको र तिनले मान्छेले २/३ सय नेपालीलाई अमेरिका पठाइसकेको भन्दै पठाओवालाले कमल तामाङसँग आफ्नो चिनजान गराएको शेर्पाले बताए। भेट बाक्लिँदै जाँदा शेर्पा एजेन्ट तामाङको कुरामा मग्न हुँदै गए।

एजेन्ट तामाङको गफ सुन्दा शेर्पाले अहिले भोगिरहेको पीडाको परिकल्पना गरेकै थिएनन्। अमेरिकामा महिनाको ५/६ लाख सजिलै कमाउन सकिन्छ भनेर घरसल्लाह गरेरै हिँडेको तर फिलपिन्समा आएर बन्धकमा परेको उनले बताए। ‘म यहाँ बन्धकमा परेको छु। अब विदेश जाने कल्पना पनि गर्नु छैन। स्वदेश आउन सके त गिटी कुटेरै परिवार पाल्थें। भारी पनि बोक्थें।’

नेपालबाट भारतको दिल्ली, त्यसपछि सिंगापुर हुँदै फिलिपिन्स पुर्‍याई बन्धक बनाइएका शेर्पाले भने, ‘सिंगापुर आएलगत्तै मलाई हस्त गौतम लिन आयो। तपाईंको अमेरिका जाने काम हुँदै छ। यताउता कामकुरो मिलाउनुपर्छ। साथमा भएको पैसा दिनुहोस् भन्दै २४ सय डलरसँगै सबै कागजपत्रलगायत पासपोर्ट लिएर गएको हस्तसँग फेरि भेट भएको छैन।’

जसरी भए पनि नेपाल फर्काइदिनू भन्दै फिलिपिन्समा बन्धकमा रहेका शेर्पाले अपिल गरेका छन्। ‘नेपाल आउने क्रममा सास रहला कि नरहला, त्यो त थाहा छैन। बरू मलाई पैसा चाहिँदैन,’ उनले भने, ‘अन्तिम पटक परिवारसँग भेट्नु छ। जसरी भए पनि मलाई स्वदेश फर्काइदिनुहोला। यो मेरो अन्तिम इच्छा हो।’

यसरी दलालीको चंगुलमा परेर विभिन्न कष्ट भोग्दै लाखौं रकम खर्चेर नेपालबाट अमेरिका जाने चलन पछिल्लो समय व्यापक बनेको छ। यसरी कमल र हस्तले अमेरिका पठाउने भन्दै १३ नेपालीलाई फिलिपिन्समा मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।