बिश्व

पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने हिन्दू महिलालाई इन्डोनेसियामा दुई वर्ष जेल र २१ लाख जरिवाना

बिज्ञापन

काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर (करिब साढे २१ लाख रूपैयाँ) जरिवाना तोकेको हो ।

बिज्ञापन

लिनाले विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गर्ने गरेकी थिइन् । यसले नै उनलाई ख्याति दिलाएको थियो । उनले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ भने उनका निम्ति महंगो पर्‍यो ।

इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ । लिना भने हिन्दू धर्मावलम्वी हुन् । उनले खान सुरू गर्नुभन्दा अगाडि ‘बिस्मिल्लाह’ भनेकी थिइन् ।

टिकटकमा लाखौं फलोअर्स भएकी लिनाले पोस्ट गरेको भिडिओले इन्डोनेसियामा हंगामा नै मच्चिएको थियो । धर्मनिरपेक्ष प्रजातान्त्रिक मुलुक भए पनि इन्डोनेसियामा ईश्वर निन्दासम्वन्धी कडा कानून छ । त्यसै अन्तरगत उनीमाथि मुद्दा लगाइएको हो । सन् २०१७ मा चुनावी अभियानका क्रममा कुरानको अपमान गरेको आरोपमा यही कानून अन्तरगत जाकार्ताका तत्कालीन गभर्नर बासुकी त्जाहाजा पुर्नामालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिमात्र होइन, आफ्नो घरनजिकको मस्जिदमा लाउडस्पिकर बजाइएको भनेर गुनासो गरेकी एक बुद्धिष्ट महिलालाई यही कानूनमा टेकेर १८ महिना जेल राखिएको थियो ।

लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् ।

उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’

लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् ।

पहिलो बाइट लिएपछि उनी भन्छिन्, ‘टिकटकमा भनिएजस्तो स्वादिष्ट रहेनछ । मलाई खासै स्पेसल लागेन ।’

बिज्ञापन