दैवीप्रकोप

बझाङ भूकम्प : रातभर खुला आकाशमुनी बास

बिज्ञापन

कैलाली – मंगलबार दिउँसो २ बजेर ४ मिनेट र ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ६४ घरमा पूर्णरुपमा क्षति पुगेको छ।

बिज्ञापन

भूकम्पकै कारण २७७ घरमा आंशिक क्षति पुगेको छ। आंशिक क्षति पुगेका घर पनि बस्न नमिल्ने भएको छन्। घर चर्कनुका साथै सामान्य भूकम्पको पराकम्पनले पनि घर ढल्न सक्ने खतरा बढेको छ। भूकम्पकै कारण ९ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

भूकम्पले गर्दा सबैभन्दा बढी थलारा गाउँपालिकामा क्षति पुगेको छ। थलारा गाउँपालिकामा १ सय २९ घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकामा २ वटा सरकारी कार्यालयसहित ८१ घरमा क्षति पुगेको छ। छविसपाथिभेरा गाउँपालिकामा ४७ घरमा क्षति पुगेको तथ्याङ्क रहेको छ।

यस्तै खप्तडछान्ना गाउँपालिकामा ४१, दुर्गाथली गाउँपालिकामा २०, सुर्मा गाउँपालिकामा १०, मष्टा गाउँपालिकामा ९, बुंगल नगरपालिकामा ४, केदारस्यु गाउँपालिकामा १ र बित्थड गाउँपालिकामा १ घरमा क्षति पुगेको छ। भूकम्पकै कारण बझाङमा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

भूकम्पका कारण मंगलबार रातभर स्थानीय खेत तथा खुल्ला ठाउँमा सुतेका थिए। ‘भूकम्पको घरीघरी पराकम्पन आउन थालेपछि गाउँभरिका सबै खेत तथा खुल्ला ठाउँमा रात काट्यौँ,’ स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले भने, ‘मंगलबार रातभर र बुधबार पनि दिनभर जसो पराकम्पन आइरहेको छ। अझै मनमा डरै छ।’ पुराना सिलेटले छाएका घरहरु भत्किएको र चर्किएको बताउँदै उनले भने, ‘सदरमुकाम चैनपुरमा रहेका अधिकांश पुराना घर चर्किएको र भत्किएका छन्।’

भूकम्पले गर्दा स्थानीयमा त्रासदी कायमै रहेकाले यहाँका अधिकांश विद्यालय पनि तीन दिनका लागि बन्द गरिएका छन्। सदरमुकाम चैनपुरस्थित जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका र थलारा गाउँपालिकाले सूचना नै जारी गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ। यस्तै भूकम्पकै कारण अवरुद्ध सडक सुचारु भए पनि सडकमा चिरा परेका छन्। सडकमा चिरा परेकाले जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्। 

बिज्ञापन