राष्ट्रिय समाचार

आजदेखि दसैँलक्षित सहुलियत पसल सञ्चालन

बिज्ञापन

काठमाडौँ, असोज २१ गते  । चाडपर्वलक्षित सहुलियत पसल आइतबार (आज) देखि उपत्यकासँगै बाहिरी जिल्लामा सञ्चालन हुँदै छन् । 

बिज्ञापन

सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् । 

सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुटको व्यवस्था गरिएको छ । 

मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । 

यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै जिउँदो खसी प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट टे«डिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । डिडिसीले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो ९७ रुपियाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ । 

खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा रहने छन् । यस्तै उपत्यकाबाहिरका ४२ जिल्लाका ४८ स्थानमा राखिने मन्त्रालयले जनाएको छ । 

यस्तै साल्ट टे«डिङ कर्पोरेसनले काठमाडौँका उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गरिने छ । 

डिडिसीले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गर्ने भएको छ । यस्तै उपत्यकाबाहिर ११ स्थानबाट सुपथ मूल्यमा वितरण गरिने डिडिसीले जनाएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुने गर्छ । 

सुपथ पसल सञ्चालन गरी उपभोक्तालाई छुटमा सामान वितरण गर्न मन्त्रालयले खाद्य व्यवथा तथा व्यापार कम्पनी लिमिटेडलाई दुई करोड ३२ लाख २० हजार र साल्ट टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सहुलियत पसल आगामी मङ्सिर ३ सम्म सञ्चालन गरिनेछ ।  

बिज्ञापन