Uncategorized

यौन दुर्व्यवहारको आरोप लागेका नौ शान्ति सैनिकलाई राष्ट्रसंघले फिर्ता गर्दै

बिज्ञापन

लागोस । संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका ९ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ । अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसङ्घले जनाएको छ । पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ । यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको आफ्नो प्रारम्भिक मूल्याङ्कनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए । उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।

दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने सङ्केत गरेको राष्ट्रसङ्घले जनाएको छ । अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसङ्घका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन । थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन् । दुर्व्यवहारको घटना विशेषगरी कङ्गोमा धेरै भएको छ । सन् २०१७ मा राष्ट्रसङ्घका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कङ्गोमा मात्र एक तिहाइ भएको थियो ।

राष्ट्रसङ्घमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ । गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि निरन्तर प्रयास गरेको बताएका थिए ।

बिज्ञापन