राष्ट्रिय समाचार

कात्तिक १४ गते महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्नुहुने

बिज्ञापन

काठमाडौं, कात्तिक ३ गते । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

बिज्ञापन

गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।

नेपाल बसाईको क्रममा उहाँले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीेले जानकारी दिनुभयो ।

उहाँले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई सुरु गरिसकेको पनि बताउनुभयो । महासचिव गुटेरेसले सम्बोधन गर्नुहुने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कात्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताउनुभयो ।

‘‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले मिति २०८० कात्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नुहुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भएको र उक्त भ्रमणको सिलसिलामा उहाँले मिति २०८० कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ ।,’’  प्रवक्ता गिरीेले भन्नुभयो, ‘‘अब संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिमको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धी आन्तरिक तयारी गर्छाैं । यसबीचमा चाडपर्व पनि परेको छ । दसैं परेको छ । लगत्तै हाम्रो आन्तरिक तयारी पनि सुरु भई नै रहेको छ । त्यसै गरेर अब उहाँको सम्बोधनमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित विदेशी नियोगका प्रमुखहरुलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने लगायतका विभिन्न कार्यको तयारी भइरहेको छ ।’’

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसङ्घकाे महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।

बिज्ञापन