राष्ट्रिय समाचार

लिखु-३ को ड्यामबाट अचानक पानी छाड्दा जलिरहेको लास बाढीले बगायो, मलामीको भागाभाग

बिज्ञापन

रामेछाप । लिखु तेस्रो जलिविद्युत आयोजनाले जानकारी नै नदिई अचानक ड्यामको पानी छाड्दा घाटमा जलाइरहेको लास बगाएको छ भने मलामीको भागाभाग भएको छ ।

बिज्ञापन

मंगलबार साँझ निधन भएका गाम्नाङटार गाविसका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता षणकृष्ण भट्टराईको अन्तिम संस्कार भइरहेका बेला स्वेतगंगा हाइड्रोले अचानक ड्याम खुलाएपछि आधा जलेको लास बगाएको मलामीहरूले बताए ।

लिखु खोलामा अचानक बाढी आएपछि मलामी लास छाडेर ज्यान जोगाउन भागेका थिए । साँझ ७ बजेको समयमा सो घटना भएपछि लास बगाएर लगेको र पछि खोज्दा नभेटिएको मलामी लालप्रसाद भट्टराईले बताए ।

गाम्नाङका भट्टराईहरूको घाट लिखु गाउँपालिका-६ को तीतोखानी भन्ने ठाउँमा छ । डुँडेखोलाको दोभानमा रहेको उक्त घाटमा लास जलाउने क्रममा आयोजनाले पानी छाडेको हो ।

स्वेतगंगाले यसअघि नियमानुसार छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछाडेर हिउँदमा खोला सुकाएको र बालीनाली समेत मरेको तथा जलचरहरू मरेको भन्दै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अनुगमनका क्रममा कारबाहीको चेतावनी दिए पनि मनपरी कायमै रहेको लिखु सरोकार समाजले जनाएको छ ।

घटना उक्त जलविद्युत आयोजनाको गम्भीर लापरबाहीका कारण हुन पुगेको लिखु सरोकार समाजका सदस्य स्थानीय लोकहरि तिमल्सिनाले बताए । सो जलविद्युत आयोजनाको गम्भीर लापरबाहीकै कारण यसअघि पनि २ जनाको ज्यान गइसकेको समाजले जनाएको छ ।

समाजले यसबारे सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै कारवाहीको माग गरेको छ ।

यसैबीच आयोजनाले भने यो नियतवस वा जानकारी नदिई भन्दा पनि आकस्मिकरूपमा हुने बताएको छ । आयोजनाको ड्याममा प्राविधिक समस्या आएर मेसिन बिग्रँदा वा अन्य कारणले समस्या आउँदा स्वतः ड्यामको पानी छाडिने आयोजनाको भनाइ छ । पानी नछाड्ने हो भने सुरुङ नै विष्फोट हुने र अकल्पनीय क्षतिसम्म हुने भएकाले यस्ता घटनाहरू बेला बेलामा हुने गरेको र स्थानीयलाई समेत जानकारी दिने गरिएको आयोजनाको भनाइ छ ।

बिज्ञापन