राष्ट्रिय समाचार

रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी सुनवाइ स्थगित

बिज्ञापन

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको रिटमाथिकाे सुनवाइ स्थगितको सूचीमा परेको छ । आज देखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ हुने गरी पेशी तोकिएको थियो । तर सर्वाेच्च अदालतले उनको रिटको पेशी सूची स्थगितको सूचीमा राखेको हो ।

बिज्ञापन

न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन गत जेठ १५ गते चौधरीलाई बाँकी कैद मिनाहा गरि छोडने काम भएको थियो । त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो ।

टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या भएको थियो । थरुहट आन्दोलनका क्रममा उनीहरुको निर्ममतापूर्वक ८ सुरक्षाकर्मी र एक बालकको हत्या गरेका थिए । सोही घटनाका प्रमुख योजनाकार भन्दै कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

बिज्ञापन