Sudur Pradesh News

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

बिज्ञापन

टीकापुर, मङ्सिर २७ गते । विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । मङ्गलबार टीकापुर बहुमुखी क्याम्पसमा आयोजित स्मृति सभामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रतिपरिवार दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

बिज्ञापन

यस्तै, विश्वविद्यालयका कर्मचारीहरुबाट सङ्कलित रकम पनि प्रतिपरिवार ५० हजारका दरले हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवारसरह ठानेर निरन्तर सहयोग पुर्याउने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । “हाम्रो साथमा छौं भन्ने भावना ठूलो हो सरकार छ भन्ने आभाष दिलाउन प्रदेश सरकारले दुई लाख र सङ्घीय सरकारले दश लाख राहत दिने घोषणा गरेको हो,” मुख्यमन्त्री शाहले भन्नुभयो, “विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश सरकार र इजरायल सरकारको सहकार्यमा कृषिमा यही ठोस योजना चलाऊ ।”

स्मृति सभाका बोल्दै नेपालका लागि इजरायली राजदूत हेनान गोडरले मृतक विद्यार्थीका परिवारले मासिक रुपमा सहयोग पाउने घोषणा गर्नुभयो । “नेपाल र इजरायलको ६० वर्ष पुरानो सम्बन्ध हो निरन्तर छ । सुन्दर सपना बोकेर इजरायल गएका विद्यार्थी जिउँदा फर्किएन अब इजरायलमा ज्यान गुमाएका तपाईंका विद्यार्थी हाम्रा विद्यार्थी, तपाईंको छोरा हाम्रा छोरा, तपाईंको परिवार हाम्रा (इजरायल)को परिवार भएकाले तपाईंको परिवार हामीसँग जोडिएको छ,” राजदूत गोडरले भन्नुभयो, “नेपाली राष्ट्रिय गानले भने झैं सयौं थुँगामा इजरायल पनि जोडिएको छ तिम्रो परिवार अब इजरायलको परिवार । त्यसैले इजरायली कानुन अनुसार इजरायलका नागरिकसरह तपाईंहरुले पनि मासिक रूपमा सहयोग पाउनुहुनेछ ।”

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले कृषिमा विकसित देश इजरायलमा पुगेर सिकाइ र कमाइ होला भनेर गएका विद्यार्थी घटनामा पर्दा अभिव्यक्त गर्न नसकिने पीडा भोग्नुपरेको बताउनुभयो । “असोज २० गते इजरायलमा भएको घटनापछिको दुई महिना विश्वविद्यालयका लागि असहज भएको छ,” उपकुलपति जोशीले भन्नुभयो, “यस घटनाबाट पाठ सिकेर अब आफ्नै अनुभव र जनशक्ति लगाएर टीकापुरमै कृषि फार्म हाउस विकास गर्नुपर्दछ ।”

स्मृति पार्क र अक्षय कोषको घोषणा

सुदूरपश्चिम विश्वविद्यालयले दश जना विद्यार्थीको स्मृतिमा पार्क बनाउने स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्यौपानेले जानकारी दिनुभयो । मृतक विद्यार्थी राजन फुलाराका काका टीका फुलाराले एक लाख ५१ हजार ५०१ रुपियाँको राजन फुलारा स्मृति अक्षयकोष स्थापना गरी यसबाट छात्रवृत्ति दिने घोषणा गर्नुभयो । यस्तै, अर्का विद्यार्थी पदम थापाका दाजु दानबहादुर थापाले पनि क्याम्पस प्रशासनको समन्वयमा पदम स्मृति छात्रवृति स्थापना गर्ने बताउनुभयो ।

बिज्ञापन