राजनीति

बालेन–हर्क मिलेर नयाँ पार्टी खोल्ने सहमति भएको हो?

बिज्ञापन

काठमाडौं– यसै साता राजधानी उत्रिनासाथ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सञ्चारकर्मीको प्रश्न थियो,‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर नयाँ पार्टी खोल्ने चर्चा छ, यसमा सत्यता छ?’

बिज्ञापन

धरानमा विमानस्थल बनाउने प्रस्तावसहित आएका उनले तत्कालै त केही उत्तर दिएनन्। तर, बालेनसँग भेट हुनेचाहिँ बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीसित भेट गरी धरानमा विमानस्थलको डिपीआरको विषय राखेका उनले त्यसपछि बालेनसँग भेट गरे।

बालेनसँग भेटेको केही समयमा नै उनले नयाँ शक्ति बन्ने घोषणा गरे तर तिथि मितिचाहिँ खुलाएनन्। यसले बालेनसँग मिलेर हर्कसहितको नयाँ पार्टी बन्ने सहमति बनेको भन्ने शंकाको सुविधा दिन्छ।

तर बालेनले भने यस विषयमा केही खुलाइसकेका छन्। भनक पनि नदिएका बालेन महानगर दिवसको कार्यक्रममा व्यस्त थिए।

हर्कले सामाजिक सञ्जालमार्फत ‘नहतारिनु नयाँ शक्ति बन्छ’ भनिसकेका छन्। उनको यो विचार बालेनसँगको भेटपछि आएको हो।

बालेन र हर्कको समानता पनि छन्। उनीहरू ‘मुडी’ छन्। अनि, स्वतन्त्र उम्मेदवार भई ‘लौरो’ चुनाव चिन्ह पाएर एकजनाले महानगर र अर्काले उपमहानगरमा जित निकालेका थिए।

बालेन इन्जिनियरिङ पाराले काम गरिरहेका छन् भने हर्क श्रमदानको रटानमा छन्। एउटाले काठमाडौंका सडकलाई सुन्दर बनाउन थालेका छन् भने अर्काले धरानको तिर्खा मेटाउने काममा श्रमदान गरी अस्थायी सुविधा ल्याइसकेका छन्।

अब भने राजनीतिमार्फत नै परिवर्तन गर्न सकिने पक्षमा लागेका बालेन–हर्कले आफ्ना सहरको मुहार फेरेपछि देशको अनुहार पनि परिवर्तनको लक्ष्य राख्नु कनै अनौठो नहुने उनका समर्थक बताउँछन्।

‘परम्परागत राजनीतिक दलले स्थानीय सरकारमा नेतृत्व गर्दा काम नगरेको भनी एकल हिसाबले नै अभियानमा लागेका हर्क र ठूलो अध्ययनपछि महानगरको नेतृत्वमा जित निकाल्न सकिने आत्मविश्वासले उदाएका बालेनबीच सहमति नहुने कारण छैन’, विश्लेषकहरू भन्छन्,‘उनीहरूले देखाएको परिवर्तनको आशालाई राजनीतिको बाटो बनाई रवि लामिछानेहरूको पनि उदय भएको होइन र?’

राजनीतिक पृष्ठभूमीभन्दा विल्कुल फरक पृष्ठभूमीबाट उदाएका दुवैले दल खोलेर आगामी निर्वाचनमा सहभागीता जनाएको खण्डमा वैकल्पिक शक्तिका रुपमा उदाएका अन्यलाई धक्का लाग्न सक्ने अनुमान गर्न सकिन्छ।

परम्परागत राजनीतिक दलहरू खासगरी कांग्रेस, एमाले र माओवादीलाई त क्षति हुन्छ नै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि हानि हुने विश्लेषण गरिएको छ। रास्वपामा ज्यादातर बालेनलाई मेयर बनाउने अभियानमा सक्रिय रहेकाहरू छन् भने उनकै मतदाताले आम निर्वाचनमा सहयोग गरेको पनि तथ्यांक केलाउने गरिएको छ।

हुन पनि रास्वपाले समानुपातिक मत काठमाडौंसहित धरानलगायतका सहरी क्षेत्रबाट ल्याएको थियो जहाँ स्थानीय निर्वाचनमा बालेन र हर्कका समर्थक धेरै थिए।

बिज्ञापन