राष्ट्रिय समाचार

भारतीय विदेशमन्त्री भोलि काठमाडौं आउँदै, यस्ताे छ भ्रमण तालिका

बिज्ञापन

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भोलि बिहाबार नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी भोलि काठमाडौं आउन लागेका हुन् ।

बिज्ञापन

विदेशमन्त्री जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।

उनीसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि आउनेछन् । साथै विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीलगायत विदेश मन्त्रालयका अधिकारीहरू आउने तय भएको छ ।

दुई दिने नेपाल बसाईको क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाहेक उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले रात्रिभोज पनि आयोजना गर्ने छ । त्यसमा पनि उनी सहभागी हुनेछन् ।

रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।

त्यस्तै जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने छ ।

नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे सम्झौताको पनि तयारी भइरहेको छ ।

बिज्ञापन