राष्ट्रिय समाचार

कतारका राजाकाे स्वागतद्वारबाट कुमारीकाे तस्बिर रातारात गायब

बिज्ञापन

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतमा काठमाडौंका सडकमा थुप्रै स्वागतद्वार राखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारहरु देख्न सकिन्छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ, नेपालस्थित कतार राजदूतावास तथा विभिन्न संघसंस्थाको पहलमा यी स्वागतद्वार निर्माण भएका हुन् । स्वागतद्वारमा नेपालका राष्ट्रपति र कतारका राजासँगै जिवित देवी ‘कुमारी’ ले अभिभादन गरेको तस्विर प्रयोग गरिएका थिए । कुमारीको तस्वीर यसरी स्वागतद्वारमा प्रयोग गर्ने प्रचलन पहिले थिएन ।

तर, आज बिहान सबै स्वागतद्वारबाट कुमारीको तस्विर गायब भएका छन् । कुनै पनि स्वागतद्वारमा कुमारीको तस्वीर देखिँदैन । उनको तस्विर भएको ठाउँमा रंग पोतिएको छ ।

नेवार समुदायका अभियन्ताहरुले कुमारीको तस्विर स्वागतद्वारमा प्रयोग भएकोप्रति विरोध जनाएका थिए । सामािजक सञ्जालमा पनि उनीहरुले यो कार्य गलत भएको भन्दै टिकाटिप्पणी गरिरहेका थिए । तर, रातारात तस्विर कसले मेट्यो भन्ने खुलेको छैन ।

यस विषयमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले अनविज्ञता प्रकट गरेका छन् । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले आफूहरुले तस्बिर नछोपेको बताए । यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले आफूहरुलाई पनि जानकार नभएको बताए ।

नेवार समुदायका अभियन्ता सुमन सायमीले पनि यस विषयमा आफूले अहिलेसम्म थाहा नपाएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन