राजनीति

चुनाव हारेका सिटौला र चौधरीलाई राष्ट्रियसभा उपहार

बिज्ञापन

काठमाडौं । गत निर्वाचनमा पराजित भएका विभिन्न राजनीतिक दलका केही नेता माननीय बन्ने पक्का भएको छ । गत वर्ष मंसिरमा भएको आम निर्वाचनमा पराजय भोगेका केहि नेताहरु आगामी माघ ११ गते हुने चुनावमार्फत माननीय बन्ने पक्का भएका हुन् ।

बिज्ञापन

गत वर्ष चुनाव हार्ने नेतामा नेपाली कांग्रेसबाट कृष्ण सिटौला र जनता समाजवादी पार्टी (जसपा)बाट पुजा चौधरी रहेका छन् ।
सिटौला गएको वर्षको मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हराएका थिए । लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए । सिटौला २०७४ मा पनि पराजित भएका थिए । लगातार दुई पटक चुनाव हारेका उनी यसपटक भने संसद पुग्ने निश्चित जस्तै भएको छ ।

चुनाव हारेको कार्यकालयमा नै उम्मेदवार बनाउन नहुने भन्दै आलोचना भइरहेको बेला कांग्रेसले सिटौलालाई कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो । कोशीमा गठबन्धनको मतभार बलियो छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोसीमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता छन् । उनीहरूको कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

प्रदेशका १३७ स्थानीय तहमा एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख/उपप्रमुख छन् । यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ ।

प्रदेशसभा सदस्य र पालिकातर्फ समेत गरी एमालेको कुल मतभार चार हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

यस अनुसार सत्ता गठबन्धनको कुल मतभार पाँच हजार ४८३ हुन्छ । यो मतभार एमालेको भन्दा एक हजार २६४ ले धेरै हो ।
त्यस्तै जसपाबाट उम्मेदवार बनेका चौधरी पनि यसअघि गत वर्ष भएको प्रदेशसभा चुनावमा पराजित भएका थिए ।

उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) मा उम्मेदवार बनेकी थिइन् । तर, स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन् । मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ छन् । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ रहेको छ । अर्थात जम्मा ३७४ जना मतदाताले मतदान गर्नेछन् ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ ।

बिज्ञापन