राजनीति

माओवादीको विधान सम्मेलन आजदेखि

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुने भएको हो ।

बिज्ञापन

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य रहेका थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो ।

बिज्ञापन