Sudur Pradesh News

सुदूरपश्चिममा ‘पटके’ सवारी पास सिमा नाकामै उपलब्ध गराउने तयारी

बिज्ञापन

धनगढीः सुदूरपश्चिममा पटके सवारी पास सीमा नाकामै उपलब्ध गराउने तयारी भइरहेको छ।

बिज्ञापन

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनलाई सिमानाकामै अस्थायी अनुमति दिने भएको हो। आफ्नो सवारीसाधन लिएर सुदूरपश्चिम भ्रमण गर्न आउने भारतीय पर्यटकलाई सहज होस् भनेर सिमानाकाबाटै पटके पास दिने व्यवस्था गरिन लागेको हो। आगामी बैशाखभित्रै यस्तो सेवा कार्यान्वयनमा आउने मन्त्रालयको दाबी छ।

त्रिनगर भन्सार कार्यालय, कैलाली र गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुरबाट नै भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनको अस्थायी अनुमति (पटके पास) वितरण गरिने भएको छ। मन्त्रालयले त्रिनगर र गड्डाचौकीमा पटके पास वितरण गर्न कार्यालय राख्न भौतिक संरचना निर्माण गर्न थालेको भौतिक पूर्वाधार विकास मन्त्रालयका डिभिजनल इन्जिनियर मोहनबहादुर कुँवरले बताए। ‘अस्थायी अनुमति दिन भनेर त्रिनगर र गड्डाचौकीमा कार्यालय राख्न संरचना निर्माण भइरहेको छ।

मन्त्रालयले नै पटके पास दिन सहज होस् भनेर संरचना निर्माण गरिरहेको छ,’ डिभिजनल इन्जिनियर कुँवरले भने। भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि होस् भन्ने उद्देश्यले सिमानाकामा पटके पास दिन लागिएको हो। विदेशी नागरिकलाई यातायात कार्यालय खोज्न समस्या हुने भएकाले नाकामा पटके पास दिन संरचनाको निर्माण गरिन थालेको डिभिजनल इन्जिनियर कुँवरले बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयले संरचना निर्माण लगत्तै कर्मचारी व्यवस्थापन गरेर त्रिनगर र गड्डाचौकीबाट पटके पास वितरण कार्य सुरू गर्ने बताएको छ। आगामी बैशाख भित्रै भारतबाट आफ्नो सवारीसाधन लिएर नेपाल घुम्न आउने पर्यटकले सीमामै सवारी साधनको अस्थायी अनुमति पाउने डिभिजनल इन्जिनियर कुँवरको भनाइ छ।

बिज्ञापन