Sudur Pradesh News

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

बिज्ञापन

धनगढी : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ। नेकपा (एकीकृत समाजवादी)पार्टी, संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको चारदिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री नियुक्ति भएकै दिन नागरिक उन्मुक्ति पार्टी(नाउपा)का प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो। 

बिज्ञापन

  सोही दिन मन्त्रीमा शपथ लिन प्रदेश प्रमुखको कार्यालयमा पुगेकी नाउपाकै अर्का सदस्य टीका थापाले आफूले चाहेको मन्त्रालय नदिइएको जनाउँदै शपथ नै बहिष्कार गरिन। त्यसलगत्तै आफूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराइन्। मुख्यमन्त्रीले विनाविभागीय मन्त्रीको रुपमा शपथ खुवाउने तयारी गरेपछि आफूले चाहेको मन्त्रालयमा नियुक्ति हुनुपर्ने अडानसहित थापा विनाविभागीयमन्त्रीको शपथ नलिई हिँडेकी हुन्। 

सत्ता साझेदार ठूलो दल नेकपा (माओवादी केन्द्र), संसदीय दलका नेता मानबहादुर धामीले अर्को साझेदार दल नेकपा (एमाले)को रबैयाले मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का जन्माएको बताए। उनले भने, ‘सत्ता साझेदार दलबीच वैशाख ७ गते बिहान एक पटक छलफल भएको थियो, त्यसयता मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै छलफल हुनसकेको छैन।’ उनले बझाङको प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावी प्रक्रियालाई लिएर नेकपा एमालेले ‘बार्गेनिङ’ गरिरहेको आरोप लगाए।

बिज्ञापन