Sudur Pradesh News

रेशमको पोष्टले सुदूरपश्चिम प्रदेश सरकार धरापमा

बिज्ञापन

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेका दुईवटा स्टाटसले सुदूरपश्चिम सरकारमा हलचल नै मच्चिएको छ।

बिज्ञापन

एउटा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा आफै दाबी गर्ने, अर्को हाल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने। यसबाट हालै मात्र मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टीको पुर्ण बैठक बसेको तस्वीर पनि रेशम आफैले सार्वजनिक गरेका छन्। सो बैठकले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन्।

बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको छ। यो पार्टीबाटै निर्णय भएको रेशमको दाबी छ। साथै कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने लगायतका मुद्दाको सवालमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग एकमत हुने निर्णय बैठकमा भएको विषय पनि बाहिर आएको छ।

विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्। फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्। उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। उसो त सत्ता गठबन्धनभित्र विवादकैबिच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल सरकार विस्तार गरेर विश्वासको मत लिने योजना बनाएका थिए। तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि अन्योल सिर्जना भएको हो। एमालेले मुख्यमन्त्रीमा विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन। बझाङ उपनिर्वाचनपछि यस विषयमा एमालेले ठोस निर्णय गर्ने जनाएको छ।

बिज्ञापन