राष्ट्रिय समाचार

एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक

बिज्ञापन

दमक, वैशाख २५ गते । झापाको कमल गाउँपालिकामा एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ । कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयमध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो ।

बिज्ञापन

विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिबिच असमञ्जसताको कारणले गर्दा शिक्षकहरूले निकासा भएको तलब पाउन सकेका छैनन् । केही वर्ष अघिसम्म १ हजारभन्दा बढी विद्यार्थी हुने गरेको यस विद्यालयमा अहिले मुस्किलले ३ सय पनि विद्यार्थी नरहेको एक शिक्षकले बताउनुभयो ।

व्यवस्थापन समिति र विद्यालय प्रशासनबिचको दूरीले भर्ना अभियान नै प्रभावित बन्यो, ती शिक्षकले भन्नुभयो । पुस मसान्तसम्मको तलब खाएका शिक्षकहरूले त्यसपछि तलब पाएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निमित्त प्रधानाध्यापक नियुक्तिलाई गाउँपालिकाले सदर नगरेपछि समस्या भएको बताइन्छ ।

प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले विद्यालयका अर्का शिक्षक तेजनाथ भट्टराई निमित्त दिएर राजीनामा दिनुभएको थियो । वैशाख पहिलो साता विद्यालय व्यवस्थापन समितिले जगन्नाथ फागोलाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरेर गाउँपालिकालाई जानकारी गराए पनि उक्त विषयमा गाउँपालिकाले कुनै प्रतिक्रिया नजनाउँदा २ जना निमित्त प्रधानाध्यापक रहेको शिक्षकहरू बताउँछन् ।

प्रक्रिया र विधिसङ्गत तवरले हामीले प्रधानाध्यापक नियुक्त गरेका हौ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण भण्डारीले भन्नुभयो । भर्ना अभियानलाई प्रभावकारी बनाउन र विद्यालयलाई नमुना बनाउन आफूहरू लागिरहँदा असहयोग भएको उहाँको भनाइ छ ।

कक्षा ७ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको र स्थानीयको सहयोग जुटाएर निजी क्षेत्रबाट समेत शिक्षक शिक्षिका राखेर पठनपाठन समेत गराउँदै आएको पनि भण्डारीको भनाइ रहेको छ । विद्यालयलाई राजनीतिक अखडा बनाउनु हुन्न र परम्परागत रूपमा चलाउनु हुन्न भनेर हामीले सुधार प्रयास गरेका हौ, उहाँको दाबी छ ।

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार दुई पक्षलाई सँगै मिलाएर लैजान प्रयास भइरहेको बताउनुभयो । यस विषयमा छलफल गरेर अघि बढ्ने र दुई चार दिनभित्र यस विषयमा समस्या समाधान गर्ने उहाँको भनाइ छ । पुनः पुराना प्रधानाध्यापक डाँगीलाई नै प्रधानाध्यापक बनाएर लैजाँदामात्र समस्या समाधान हुने देखिएको गाउँपालिकाको बुझाइ छ ।

बिज्ञापन