जलवायु

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।

बिज्ञापन

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसमविद महर्जनले अनलाइनखबरसँग भनिन्, ‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि । अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’

लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।

बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।

आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।