सुदूरपश्चिम प्रदेशमा ३३ अर्बको बजेट सार्वजनिक हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।
सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुहुने छ । चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याउँदैछ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताए । ‘‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठुलो बजेट आउँछ,’’ पालले भने, ‘‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’’
यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार नै प्रदेश गौरवका योजनालाई निरन्तरता दिने र अन्य क्रममागत पूर्वाधार विकास योजनालाई तीव्ररुपमा अघि बढाउने योजना रहेको मन्त्री पालले जानकारी दिए ।
यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने योजना रहेको उनको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
