राष्ट्रिय समाचार

चिनियाँ उच्चस्तरीय टोली आज नेपाल आउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : चीन सरकारको एक उच्चस्तरिय टोली आज नेपाल आउँदैछ। गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो। परराष्ट्र र गृह मन्त्रालयले उक्त भ्रमणको संयोजन गरेका छन्।

स्रोतका अनुसार,हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री,गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ। गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन्।

बिज्ञापन

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरु बाक्लिएका छन्। हानपिन नेतृत्वको टोली फर्किए लगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउँदैछ।नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन उपविदेश मन्त्री सन वेईतोङ नेतृत्वको टोली आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले उक्त भ्रमणको आवश्यक तयारी गरिरहेको छ ।

पछिल्लो समय चीनले काठमाडौंपछि पोखरा र लुम्बिनीमा आफ्नो गतिविधिलाई बढाउँदै गएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले पोखरामा विभिन्न कार्यक्रम आायोजना गरेको थियो। दूतावासले लुम्बिनीमा समेत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

गत साता मात्र एक उच्च चिनियाँ अधिकारीले लुम्बिनी र काठमाडौंको भ्रमण गरी फर्किएका छन्। चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ गत बुधबार लुम्बिनी गएका थिए। मन्त्री चेनसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ,चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला व्युरो प्रमुख हुआंग झिहुई पनि उक्त टोलीमा सहभागी थिए। उनलाई लुम्बिनीमा चाइनिज बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष मास्टर यिन सुनले घुमाएका थिए।

मन्त्री चेनले लुम्बिनीमा चिनियाँ गुम्बा छेउमा बन्न लागेको संरचनाको शिलान्यास गरेका थिए।मन्त्रीसँगै माष्टर यिन सुन, राजदूत सोङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना रहिजनसहित शिलान्यासमा सहभागी बनेका थिए ।

मन्त्री चेन केहीबेर लुम्बिनी विकास कोषमा उपाध्यक्ष लामाको कार्यकक्षमा बसेका थिए।चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने एवं नेपाल चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ आफू लुम्बिनी भ्रमणमा आएको मन्त्री चेनले बताएका थिए। मन्त्री चेनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।