जलवायु

खडेरीले सुक्न थाल्यो कर्णालीमा मकै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जाजरकोट : यतिबेला भेरी नगरपालिका—७ पुन्माका शिवराम पुन निकै चिन्तित छन्। लामो समयसम्म पानी नपर्दा खडेरीले बारीमा लगाएको मकै 

सुक्दै गएपछि उनी निकै चिन्तित भएका हुन्।

बिज्ञापन

वर्ष दिनसम्म खाने खेती बिग्रिएपछि उनी यतिबेला तनावमा छन्। आकासेपानीको भरमा लगाएको मकै बाली सुकेपछि उनी जस्तै धेरै किसान चिन्तामा छन्। गत वर्ष १८ मुरी मकै फलेको थियो। आफूले खाएर पनि १० मुरी मकै बेचेको थिएँ तर यो पाली केही त उम्रिँदै उम्रेन। उम्रिएको पनि खडेरीले सुक्यो उनले भने ‘यति लामो खडेरी परेको मैले अहिलेसम्म थाहा पाएको थिइनँ। मकैबाली चौपट भयो।’ 

सोही ठाँउका प्रदीप विकले लगाएका मकै पनि सुकेर खंग्रङ्ग भएका छन्। आकासेपानीको भरमा लगाएको बाली पानी नपर्दा सुक्न थालेको हो। लामो खडेरीका कारण मकै खेती सुकेपछि उनको परिवारलाई भोकमारीको चिन्ता थपिएको छ। ‘असार लागि सक्यो अहिलेसम्म पानी पदैन। मकै सबै सुकेर सखाप भइसके फेरि लगाउन पनि सिजन गइसक्यो। पानी पनि पर्दैन के यस्तो समय आयो।’ उनले भने ‘यति लामो खडेरी परेको अहिलेसम्म मलाई थाह थिएन।’

शिवराम र प्रदीप त नमुना किसान मात्र हुन्। उनीहरू जस्तै हजारौ किसानहरू मकैबाली सुक्न थालेपछि चिन्तामा परेका छन्। जाजरकोटलगायत कर्णालीका अधिकांश जिल्लामा मकै खेती हुने गरेको छ। सिँचाइ सुविधा नहुँदा यहाँका किसानले आकासेपानीको भरमा खेती गर्ने गर्छन्।

कर्णालवासीलाई लामो खडेरीले निकै सास्ती दिएको छ। बर्खेबाली सुक्न थालेको छ। तरकारी खेती र फलफूलका बोटविरुवा सुक्न थालेका छन्। धेरैजसो पानीका मुहानसमेत सुकेका छन्। जाजरकोट भेरी नगरपालिकाका नगर उपप्रमुख सीता जैसीले भनिन् ‘लामो खडेरीले स्थानीयलाई निकै सताएको छ। किसानले खेतबारीमा लगाएको मकै लगायतको बालीनाली सबै सुक्न थालिसक्यो।’

पूर्वी भेगमा धेरै पानी परेर बाढीपहिरो गएर जनधनको क्षति बनाइरहेको छ तर कर्णाली भने असार लाग्दा पनि खडेरीले आक्रान्त छ। आकासेपानीको पर्खाइमा कर्णालीवासी रहेका छन्। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार कर्णालीका १० जिल्लामा गत वर्ष ८८ हजार १ सय ७५ हेक्टरमा मकै खेती गरिएको थियो।

गत वर्ष २ लाख ५९ हजार १ सय २२ मेट्रिक टन उत्पादन भएको थियो। यस पर्ष मौसम सप्रिए उत्पादन बढ्ने अनुमान गरिएको थियो। तर लामो खडेरीले गर्दा उत्पादनमा ह्रास आउने देखिएको छ। कर्णालीका जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, मुगु, डोल्पा, हुम्ला र जुम्ला जिल्लामा जेठ महिनायता पानी पर्न सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।