कैलालीमा १५ विद्यालयको एसइईको नतिजा शून्य, ४ जीपिए ल्याउने नीतिका एक्ली

धनगढीः कैलालीका सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ।
यस वर्षको एसइईमा कैलालीबाट १८ हजार ६० विद्यार्थी सहभागी भएकोमा ३०.०५ प्रतिशत उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ। जिल्लाभरि एक सय ७५ वटा सामुदायिकसहित दुई सय ९३ वटा विद्यालय एसइईमा सहभागी भएकामा थिए। तीमध्ये १५ वटा विद्यालयको नतिजा शून्य आएको छ।

१४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको नजिता शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत प्रतापसिंह धामीले बताए। कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडा तथा चुरे गाउँपालिकाको जनता मावि बैसेनी र जनता मावि शान्तिनगर र भगवती मावि कोतढुङ्गेनीको नतिजा शून्य आएको छ। यी विद्यालयबाट क्रमशः ३५, ४९, ३६, २१ र १६ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए।
त्यस्तै टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शून्य छ। राष्ट्रिय माविबाट २३ र त्रिभुवन माविबाट २६ जनाले एसइई दिएका थिए। आठजना विद्यार्थी परीक्षामा सहभागी गराएको टीकापुरको निजि विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको समन्वय इकाइले जनाएको छ।
भजनी नगरपालिकाको सरस्वती मावि नवलपुर, महेन्द्र मावि पगियापसार, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि ढुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा पनि शून्य आएको शिक्षा अधिकृत धामीले बताए। यी विद्यालयबाट क्रमशः २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए। मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा शून्य आएको छ। भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएको समन्वय इकाइले जनाएको छ।
नमुना विद्यालयकै नतिजा कमजोर
कैलालीमा नमुना विकास कार्यक्रम लागू भएका सामुदायिक विद्यालयकै नतिजा कमजोर देखिएको छ। आठवटा नमुना विद्यालयमध्ये छवटाको नतिजा २० प्रतिशतभन्दा कम छ। धनगढी नमुना माविबाट परीक्षा दिएका एकसय ७५ जनामध्ये ३२, जानकी गाउँपालिकाको जनता माविबाट परीक्षामा सहभागी ८३ जना मध्ये १० र बर्दगोरिया गाउँपालिकाको बसन्तमुरारी माविबाट सहभागी दुई सय २४ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन्।
त्यस्तै जोशीपुर गाउँपालिकाको रघुनाथ आदर्श नमुना माविबाट एसइई दिएका ८२ मध्ये सातजना, कर्णाली मावि टीकापुरबाट सहभागी तीनसय पाँचमध्ये ५९ जना र मोहन्याल नमुना मावि भजनीबाट परीक्षा दिएका एकसय ६० मध्ये आठजनामात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। जिल्लाका आठवटा विद्यालयमा नमुना विकास कार्यक्रम लागू भएको छ।
सामुदायिक विद्यालयबाट ४ जीपिए ल्याउने नीतिका एक्ली
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नीतिका अवस्थी ४ जीपिए ल्याएर एसइई उत्तीर्ण भएकी छन्। सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि सामुदायिक विद्यालयबाट ४ जीपिएर ल्याएर उत्तीर्ण हुने नीतिका एक्ली हुन्। गोदावरी नगरपालिका–४, बसन्तपुरकी नीतिका अत्तिरिक्त क्रियाकलापहरुमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेकी छन्।
पढाइसँगै निबन्ध, हाजिरी जवाफ, वत्तृत्वलगायत अत्तिरिक्त क्रियाकलापमा उनी सधैँ प्रथम स्थान हासिल गर्ने गरेकी दुर्गालक्ष्मी माविका प्रधानाध्यापक शिवराज जोशीले बताए। दुर्गालक्ष्मी नमुना माविबाट तीन सय ७३ विद्यार्थी एसइईमा सहभागी भएकोमा एक सय दुई जना उत्तीर्ण भएका छन्। कैलालीमा चारजना विद्यार्थी ४ जीपिए ल्याएर एसइई उत्तीर्ण भएका छन्।
अत्तरियाको संस्थागत विद्यालय सत्ववती एकेडेमीका निर्मल ठगुन्ना, सैनिक महाविद्यालयका विकास रावत र टीकापुरको बीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँद ४ जीपिएसहित उत्तीर्ण भएका हुन्। लम्की–चुहा नगरपालिकाको राष्ट्रिय नमुना मावि मोतिपुरले ५८.७७ नतिजा ल्याएको छ। राष्ट्रिय माविबाट परीक्षामा सहभागी एक सय १४ जनामध्ये ६७ जना उत्तीर्ण भएका छन्। जिल्लामा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याएको पञ्चोदय मावि धनगढीबाट ५८.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। पञ्चोदयबाट एसइईमा सहभागी तीनसय दुईजनामध्ये एक सय ७७ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
