आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन टीकापुरमा भव्य मुक्ति पर्व दिवस सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ भाद्र । सन्त निरंकारी सत्संग भवन टीकापुरमा भव्य मुक्ति पर्व दिवस सम्पन्न भएको छ । उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले भन्नुभयो कि जगतमाता बुद्धवन्ति जी सहनशाह बाबा अवतार सिंह जीकी धर्मपत्नि भएर पनि उहाँ जहाँपनि सत्संगमा जानु हुन्थ्यो, त्यहाँ बाबा जीभन्दा अगाडि पुगेर सत्संग गर्ने घरको सरसफाई, लुगाहरु धुने, खाना पकाउने आदि जस्ता सेवा गर्नु हुन्थ्यो साथै बाबा जी आउने बाटोमा फूल गुच्छा लिएर सन्तहरुसंगै स्वागतको लागि उभिएर पर्खाईमा बस्नु हुन्थ्यो । यसबाट सिक्नु पर्ने कुरा के छ भने हामी जतिसुकै ठुला विद्वान, ठुला मान्छे किन नहौ हामीले सेवा कार्यमा पछि हट्नु हुँदैन । सेवामा कोहि ठुलो–सानो हुँदैन, धनि–गरीब, पढे–लेखेकालाई हेरिदैन, यहाँ सबै समान हुन्छन् । हामीले पनि त्यही भावलाई आत्मसाथ गरेर जस्तोसुकै सेवा कार्यमा अग्रसर हुनु पर्दछ, उहाँले सम्झाउनुभयो ।

जगतमाता बुद्धवन्ति जी बाबा सहनशाह जीकी धर्मपत्नि भएर पनि सेवा कार्यमा जहिले पनि अग्रसर हुनुहुन्थ्यो, कहिल्यै पछि हट्नु भएन । त्यस्तै बाबा अवतार सिंह जीले बाबा बूटा सिंह जीबाट यो ब्रम्हज्ञानलाई प्राप्त गर्नुभयो तब उनले सबै मानवलाई यस ज्ञानको ज्योतिलाई बाँड्नु भयो र भन्नुभयो ज्ञानको बारेमा अधिक जानकारीको लागि बाबा बूटा सिंह जी कहाँ आउनु होस, उहाँ तपाईहरुको पर्खाईमा बस्नु भएको छ । उहाँले विरोध गर्न आफ्नो घर पुगेका विरोधीहरुलाई पनि प्रचण्ड गर्मीमा तड्पी–तड्पी चिल्लाई रहेको देखेर उनीहरुलाई चिसो सर्वत–पानी पिलाएर पठाउनुभयो जसबाट विरोधीहरुको ह्दयलाई जित्न सफल हुनुभयो, उहाँ बताउनु भयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो कि आज सन्त निरंकारी मिशन यही सद्भाव, विश्वबन्धुत्व, समभाव, एकत्व, मिलवर्तनको भावले संसारमा निकै तिब्र रुपमा फैलिएर विश्वका मानवको कल्याण गरिरहेको छ । हामीले पनि यहि शिक्षालाई आफ्नो घर–परिवारमा लागु गर्छौभने हाम्रो घर स्वर्ग हुने छ, स्वर्गलाई कतै खोज्न जानु पर्दैन प्रष्ट पार्नुभयो ।

उहाँले हरदेव बाणीको सहारा लिदै भन्नुभयो कि जीवन रहदै मुक्ति पाउनु त्यो वास्तविक मुक्ति हो । काम, क्रोध, लोभ, मोह, अहंकार, धन–सम्पत्ति, घर–परिवारको माया जालबाट मुक्त हुनु नै मुक्ति हो । त्यो मुक्ति केवल सत्गुरुको शरणमा आएपछि मात्र प्राप्त हुन्छ । सेवा, सत्संग, सुमिरण गर्दै यस निराकार–परमात्माको यशोगान गर्दै जीवन मुक्ति गर्न सकिन्छ । मुक्ति केवल बितिसकेपछि मात्र पाईदैन यो त जीउँदै पाईन्छ । त्यही सच्चा मुक्ति हो । हामीले सधैं यस निराकार–परमात्मासंग जोडि रहनु पर्दछ, संसारिक मायादेखि टाढा रहनु पर्दछ । सधैं नेक कार्यमा अगाडि बढ्नु पर्दछ, सधैं संसारको भलाईको कामना गर्नु पर्दछ । यसैबाट मुक्ति सम्भव हुन्छ । यदि हामी आफ्नो मनमा कुनै प्रकारको अभिमान पालेर कुनै सेवा गर्छौ भने त्यसबाट मुक्ति पाउन सकिदैन । हामीले कुनै प्रकारको लोभ–लालच राख्नु हुँदैन, त्यसबाट सधैं टाढा रहनु पर्दछ । यदि यसको चक्रब्यूमा फसिन्छ भने त्यसबाट जीवन मुक्ति हुन सक्दैन । त्यस्तै आशा–तृष्णा–वासनामा जकिडिएको मानवले पनि मुक्ति पाउन सक्दैन । यसर्थ वास्तविक मुक्ति पाउनु छभने हामीले सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानलाई प्राप्त गरेर तन, मन, धन सत्गुरुलाई अर्पण गरेर सेवा, सत्संग, सुमिरण गर्दै जीवनलाई अगाढि बढाउँछौ भने त्यसबाट जिउँदै मुक्ति पाउन सकिने, उहाँले बताउनु भयो ।

अन्तमा उहाँले टीकापुर क्षेत्र ब्रम्हज्ञानी सन्तहरुको तपोभूमि भएको बताउँदै उनीहरुको नेपालमा सन्त निरंकारी मिशनलाई फैलाउनुमा अहम योगदान गरेको छ, हामीले पनि उनीहरुको मार्गदर्शनलाई आत्मसाथ गर्दै जीवनलाई अगाडि बढाउने छौभने उहाँहरु प्रति सच्चा श्रद्धाजलि हुने छ, उहाँले धारणा राख्नुुभयो ।

मुक्ति पर्व दिवसमा लौटन चौधरी, बल बहादुर रावल, जंग बहादुर, जीत बहादुर ओड, भगवती, तुलसी बोहरा, चेतना रेग्मी, पूर्ण कुमाल, सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, प्रशन्न बटाला लगाएतका सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव प्रकट गरेका थिए भने सत्संगको संचलन सन्त निरंकारी मण्डल नेपालका मिडीया सहायक दीपक रावलले गर्नुभएको थियो । उक्त अवसरमा सबै सन्त–भक्तहरुलाई लंगरको पनि व्यवस्था गरिएको थियो ।

टीकापुरमा सत्संग आरम्भ हुनुभन्दा पहिले सेवादल शिक्षक भुवन सिंहले स्थानीय सेवादलका जवानहरुहलाई प्रार्थना गराएर दुई मिनेट सेवादल जवान जीत बहादुर ओडलाई मुक्ति पर्वको बारेमा जानकारी गराउन आदेश दिनुभएको थियो । उहाँले मुक्ति पर्व मनाउनुको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै हामी सेवादल जवानको त्यसमा कस्तो भूमिका हुनु पर्व भन्ने विषयमा चर्चा गर्नु भएको थियो ।

यस्तै प्रकारले मुक्ति पर्व दिवस नेपालका विभिन्न ठाउँमा जस्तै काठमाडौ, पोखरा, स्याङ्जा, दाङ, रोल्पा, सल्यान, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, जनकपुर, राजविराज, बुटवल, झापा, धरान, नवलपरासी, हेटौडा, कपिलवस्तु, नेपालगन्ज, कोहलपुर, उत्तरभकारी, भूरीगाउँ, ताराताल, अमरावती, लम्की (मोतीपुर), सडकपुर बौनिया, सुखड, मसुरीया, अत्तरीया, धनगढी, महेन्द्रनगर, बेलौरी, दिपायल, अछाम लगाएत नेपालका १२६ ठाउँहरुमा भव्यताका साथ मनाईएको थियो । सबै ठाउँमा लंगरको व्यवस्था गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।