स्वास्थ तथा सरसफाइ

तौल घटाउन अनलाइनबाट किनेको ‘औषधि’ खाएकाहरू गम्भीर बिरामी, मिर्गौलामा पनि देखियो असर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । चिकित्सकको सल्लाहबिना विभिन्न अनलाइन विज्ञापनको भरमा तौल घटाउने औषधि प्रयोग गर्दा बुटवलमा तीनजना गम्भीर बिरामी परेका छन् । उनीहरूको अहिले आईसीयूमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकका अनुसार विभिन्न माध्यमबाट मगाइएका तौल घटाउने दाबी गरिएका ती औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको हो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भइरहेको डा. पाठकले बताए ।

बिज्ञापन

‘गार्सिनिया कम्बोजिया’ नामको औषधि खाएकी सृष्टी सेन ठकुरीको उपचार भइरहेको पाठकले बताए । बिरामी परेकी सृष्टी आफैँ पनि स्वास्थ्यकर्मी हुन् । चिकित्सकका अनुसार यो विदेशी कम्पनीले उत्पादन गरेर बजारमा पठाएको एक न्युटिसियन हो तर बेच्नेहरूले यसलाई औषधि भनेका छन् भने खानेले पनि औषधि नै भनेर खाइरहेका छन् ।

सामाजिक सञ्जालमा ‘एक महिनामा नै दुब्लाउने औषधि’ भनेर विज्ञापन देखेपछि उनले साथीको सहयोगबाट अनलाइन अर्डर गरी त्यो सामान मगाएकि थिइन् । तर, लगत्तै उनलाई टाउको दुख्ने, रिँगटा लाग्ने हुन थाल्यो । बिस्तारै  समस्या बढ्दै गयो । परिवारका कसैलाई नभनी उनले खाँदै थिइन् ।

एक्कासि जन्डिसको समस्या देखिएपछि उनी उपचार गर्न गरिन्, तर निको भएन, मिर्गौलामा समेत असर गर्न सुरु गरेको स्वास्थ्य परीक्षणबाट थाहा भयो । दुब्लाउने भनेर खाएको औषधिको असर बढ्न थाल्यो । यसपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सीमा भर्ना भएर थप उपचारमा लागेकी हुन् ।

यस्तै एकजना सोही औषधि खाएका बिरामीको पाल्पाबाट अहिले काठमाडौं रिफर गरी उपचार भइरहेको र अर्का एकजनाको नेपालगञ्जमा उपचार भइरहेको डा. पाठकले बताए । औषधि खाएकी सृष्टि सेन ठकुरीले आफूलाई पनि साथीले मगाइदिएको र खाएको बताएकी छन् ।

क्याप्सुलको रूपमा रहेको यो औषधि खाना खानुभन्दा ४५ मिनेट पहिला १/१ गोली १ महिनासम्म र त्यसपछि डेढ/डेढ गोली गरेर खानुपर्ने भनिएको थियो ।

अहिले अस्पतालमा उपचारमा आएका ३ जना मात्र देखिएकाले अरु पनि हुनसक्ने भन्दै जथाभावी यस्ता सामान प्रयोग नगर्न डा. पाठकले सुझाव दिए ।

‘आधिकारिकता प्रमाणित नभएका र विज्ञापनलाई आधार मानेर यस्ता औषधि जथाभावी प्रयोग नगर्न सबैलाई सचेतना फैलाउनुपर्ने छ, यो त उदाहरण मात्रै हो, यस्ता धेरै मेडिसिन सञ्जालको विज्ञापनका आधारमा प्रयोग भइरहेका छन् जुन स्वास्थ्यका लागि अत्यन्तै गम्भीर छन्’ उनले भने ।

‘यो औषधि खाने बिरामीलाई सुरुमा जन्डिस देखियो, बिस्तारै शरीर कमजोर हुँदै जाने, किड्नीमा समेत असर पर्ने गरेको पाइएको छ । लामो समयसम्म यसको सेवन गर्नाले मानिसको मृत्युसमेत हुनसक्ने डर हुन्छ, समयमै सचेत हुन आग्रह गर्छौं ’, पाठक भन्छन् ।

अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर खगेन्द्र आचार्यले यस्तै मेडिसिन खाएर जिल्लामा पनि २ जना बिरामी यसअघि आइसकेको बताए । लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तव खाद्य र भ्याटमा दर्ता भएका विभिन्न न्युटिसियन कम्पनीहरूले बेच्ने यस्ता वस्तुहरूले सर्वसाधारण हैरानीमा परेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।