राष्ट्रिय समाचार

न्याय पाउन नसकेको बेपत्ता परिवारको गुनासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जाजरकोट : ‘माओवादी आउँथे। घरमा पकाएको खान खान्थे। कार्यक्रममा बोलाएर लान्थे। त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि २१ वर्ष बितिसक्यो’ भेरी नगरपालिका १ पिपेकी बली रानाले भनिन् माओवादी द्वन्द्वको क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउलान भनेर कुर्न थालेको वषौं बित्यो। उनलाई बेपत्ता श्रीमान् फर्केर आउलान भन्दा भन्दै २१ वर्ष बितेको पत्तै भएन। अहिले पनि श्रीमान् फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छन्।

बलीले भनिन्, ‘जीवन साथी गुमाउनु पर्दा आँसु पिएर जिउनुको विकल्प भएन। मेरो जस्तो पीडा कसैले भोग्न नपरोस्। युद्धको नाममा हामी जस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरून्।’ उनले बेपत्ता पार्नेलाई श्वास वा लास दिन माग गरिन्। मेरा श्रीमान्को के दोष थियो र त्यसरी बेपत्ता पार्नुपर्ने उनले आक्रोश पाख्दै भनिन्, ‘बेपत्ता पार्नेलाई कारबाही गर्नुपर्छ।’ सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको ६ वर्ष बितिसक्दा पनि अहिलेसम्म छानबिन नभएकोमा उनी निकै दुःखी छन्। ढिलै भए पनि हामीले न्याय पाउँछौं कि भन्ने आशा थियो उनले निराश हुँदै भनिन् यो आयोगले पीडितलाई न्याय दिलाउला जस्तो लागेन। टीआरसी विधेयक हालै संसदबाट पारित भएको बारे उनी बेखवर छन्।

बिज्ञापन

भेरी नगरपालिका–२ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान् बेपत्ता भएको २१ वर्ष बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएको बताइन्। अध्ययनका लागि नेपालगञ्ज गएका श्रीमान् शिवप्रसाद शर्मालाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी आरोपमा बेपत्ता बनाएको उनले बताइन्। ‘घरको मुली मान्छेलाई बेपत्ता पारिएपछि दुई छोरीहरू सँगै आँशु बगाएरै जीउन बाध्य भयौं। अहिले जीवन निर्वाहमा निकै समस्या परेको छ’, उनले भनिन्, ‘छोरीहरूले बाबा खै भन्छिन्। मैले के जवाफ दिने ? हामीलाई यसरी कहिलेसम्म तड्पाएर राख्ने ? मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस्।’ उनले आफ्ना निर्दोष श्रीमान्लाई बेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारबाहीको माग गरिन्। सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरे पनि न्याय पाउनेमा आशा मरिसकेको बताइन्।

जिल्लाको भेरी नगरपालिका–१ कालेगाँउकी ७३ वर्षीया चनावती बटालाले छोरा फर्केर आउला भन्ने आस मारिसकेकी छन्। तर, उनलाई न्यायको आस भने मरेको छैन। ‘बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २६ वर्ष बितिसक्यो तर अहिलेसम्ममा छोराको अवस्था थाह पाउन सकेकी छैन। छोरो ज्यँुदो होला भन्ने आशा पनि छैन’, उनले भनिन्, ‘माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन्। त्यसपछि उनीहरूले छोरालाई बेपत्ता बनाए। सायद मारिदिए होलान।’ मेरा छोरालाई बेपत्ता पार्नेलाई हदैसम्मको कानुनी कारबाही होस्। अन्य क्षतिपूर्ति केही चाहिएन उनले भनिन्, ‘छानबिन आयोगले छिटो हामीलाई न्याय दिलाइदेओस्।’

 भेरी नगरपालिक– ४ की राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरिन्। जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालीन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरी बेपत्ता बनाएका थिए। प्रहरी कार्यालय परिसरमा रहेको मन्दिरमा पुजारी भएकै कारण माओवादीले आफ्ना पतिलाई बेपत्ता बनाएको बताइन्। 

आफ्ना पतिको सास वा लासको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न माग गरिन। सरकार र तत्कालीन विद्रोही माओवादीबाट जाजरकोटमा तीन सय बढीको ज्यान गएको र अझै १३ जना बेपत्ताको सूचीमा छन्। युद्ध लडेका नेता पटक–पटक मन्त्री पनि भए। पीडितका समस्या समाधान पनि गर्छौं भने तर फर्किएर कहिलै हेरेन्न। न त अन्य पार्टीले नै हाम्रो समस्यालाई गम्भीर रूपमा लिए खनालले गुनासो पोख्दै भनिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।