स्वास्थ तथा सरसफाइ

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हामी सबैको अनुभव यो छ कि हाम्रो समाज वा परिवारमा पक्कै पनि हाम्रा साथी, नातेदार, दिदीबहिनी, आमा वा काकी कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहुन्छ वा लडिरहेको हुनुहुन्थ्यो। अझै प्रष्ट रूपमा भन्नुपर्दा यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर नहोला।

तथ्यांक हेर्ने हो भने विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। तर, हाम्रो देशमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबोक्यान (डब्लूएचओ) २०२० को तथ्यांकअनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलालाई स्तन क्यान्सरको पहिचान हुन्छ र प्रत्येक दिन ३ जना महिलाको मृत्यु यस क्यान्सरले गर्दा हुन्छ।

बिज्ञापन

संसारको सबैभन्दा विकशित मुलुक अमेरिकाको कुरा गर्ने हो भने अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी क्यान्सरद्वारा महिलाको मृत्यु स्तन क्यान्सरले गर्दा हुन्छ।

अंग्रेजी वर्षको अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रङमा मग्न हुन्छौं। मानिस गुलाबी रङको रिबन लगाएर, गुलाबी रङका पहिरन लगाएर, विभिन्न कार्यक्रम जस्तैः बाटोमा हिँड्ने, नाचगान गर्ने तथा अरू सामूहिक कार्यक्रम गर्ने गर्छन्। यसरी समाजका सबै महिलाले स्तन क्यान्सरको जोखिमबाट कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने संवेदनशीलता जगाउनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नुनै स्तन क्यान्सरलाई निर्मुल पार्ने अचुक अस्त्र हो। यदि यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गर्‍यो भने यसलाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिँदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको दुखाइ तथा पीडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गर्नका लागि २ महत्वपूर्ण उपाय छन्।

१.ब्रेस्ट सेल्फ एग्जामिनेसन अर्थात् आफ्नो स्तन आफैं जाँच्ने 
यसअन्तर्गत १८ वर्षको उमेरभन्दा माथिका महिलाले प्रत्येक महिनाको एकचोटी महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफैं जाँच गर्ने। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने।

जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र, केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिन सकिन्छ।

२.म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने
कुनै पनि रोगको लक्षण देखिनुभन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रविधिलाई स्क्रिनिङ भनिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पत्ता लगाउनका लागि महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो। 

अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एकपटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्छ। म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदि यी जाँचहरूमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यान्सर भए/नभएको निश्चित हुन्छ।

अन्त्यमा, अहिलेसम्मको वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवको आधारमा, जो महिलाको दैनिक जीवनशैली स्वास्थ्य तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरुभन्दा न्यून हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौस्टिक खानासँगै स्वस्थ जीवन निर्वाह गर्नु आवश्यक छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस र उमेर पुगिसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटी म्यामोग्राफी गर्नुहोस्।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग गरिएको कुराकानीमा आधारित।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।