घटना

सर्पदंशका घटना बढ्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महोत्तरी, भदौ १८ गते । महोत्तरी जिल्लामा केही समय यता सर्पदंशका बिरामी बढेका छन् । प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका चिकित्सक डा.कृष्णा पंजियारले अत्यधिक गर्मी र वर्षाको कारणले सर्पदंशको बिरामी बढेको बताउनुभयो । 

यहाँ पानी र अत्यधिक गर्मीले दुलोमा बस्ने सर्प बाहिर निस्कने र टोक्ने गरेको उहाँको भनाइ छ । उहाँले भदौ महिनामा अहिलेसम्म ३२ जना सर्पदंशको बिरामी उपचारको लागि आइसकेको बताउनुभयो । उहाँले उपचारमा आएकाहरुमध्ये २१ जनाले आफूलाई सर्पले टोकेको र ११ जनाले सर्प वा किरा कसले टोकेको थाहा नभएको बताएका थिए । 

बिज्ञापन

उहाँले विषालु सर्पले टोकेको यकिन नभएसम्म तथा विषको असर नदेखिएसम्म प्रतिविष अर्थात् एन्टी स्नेक भेनम नचलाउने गरेको बताउनुहुँदै आफूहरु लक्षण नदेखिसम्म एन्टी स्नेक भेनम नचढाउने गरेको बताउनुभयो । उहाँले उपचारका लागि आउने बिरामीहरुलाई टोकेको ठाउँलाई बढी नचलाउने, टोकेको ठाउँभन्दा माथि हल्का दवाब पर्ने गरी पट्टी बाँधिदिने र लक्षणहरु जानकारी गराइदिने बताउनुहुँदै निगरानीमा राखेर लक्षणहरु देखिए मात्रै भेनम चढाउने गरेको बताउनुभयो । 

यसक्षेत्रमा गोमन र करेत सर्प विषालु सर्पको सूचीमा छ । कतिपयले सर्पले टोक्दा पनि उपचारको लागि अस्पतालमा नआई झारफुक गर्ने, धामीलाई देखाउने र स्थिति बिग्रे मात्रै अस्पताल ल्याउने गरेको बताउनुभयो । उहाँका अनुसार यस्ता बिरामीलाई बढी विष चढे आइसियुसमेत चाहिने भएकोले सर्प वा अन्य कुनै किराले टोकेमा तत्कालै उपचारका लागि अस्पताल पुग्न सुझाव दिनुभयो । 

प्रादेशिक अस्पतालको इमरजेन्सी (आकस्मिक) शाखामा खटिनुभएका हेल्थ असिस्टेन्ट भरत ठाकुरले सर्पदंशका बिरामी उपचारका लागि आएमा हामीले बिरामीको लक्षण हेरेर मात्रै उपचार गर्ने गरेको बताउनुभयो । श्वासप्रश्वास अवरुद्ध भइरहेको लागेमा, आँखाको ढकनी पूरा खोल्न असहज भएमा, आँखा बन्द गर्न थालेमालगायतका लक्षणहरुको आधारमा विष चढेको आफूहरुले बुझ्ने गरेको बताउनुहुँदै आइसियु भएमा सर्पदंशको बिरामी बाँच्ने आधार धेरै बढी हुने बताउनुभयो ।

प्रादेशिक अस्पताल जलेश्वरमा विगत चार वर्षदेखि पाँच शय्याको भेन्टिलेटरसहितको आइसियु रहे पनि जनशक्ति अभावमा सञ्चालन हुन सकेको छैन । 

प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक शाखा इन्चार्ज राजीव पाठकले साउन महिनामा ६८ जना विभिन्न टोकाइको समस्या लिएर अस्पताल भर्ना भएको बताउनुभयो । उहाँले आ.व.२०८०-०८१ मा २३८ जना सर्पदंश वा अन्य टोकाइको समस्या लिएर उपचारमा आएको बताउनुभयो । 

अस्पतालमा सर्पदंशको उपचार निःशुल्क रहेको र अहिले भेनम पनि उपलब्ध रहेकोले सर्पदंशका बिरामीहरुलाई धामी, झाँक्री वा अन्य ठाउँमा लग्नुभन्दा अस्पताल जान उहाँको सुझाव छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।