सन्त निरंकारी सत्संग भवन दिपायल–डोटीमा सत्संग सम्पन्न

दिपायल, ११ असोज । सन्त निरंकारी सत्संग भवन दिपायलमा सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा देहरादूनबाट आउनु भएका ज्ञान प्रचारक भरत बहादुर ठाकुरले सत्संगलाई सम्बोधन गर्दै भन्नुभयो कि सत्संगमा सिक्न आइन्छ, यहाँ कोहि सिकाउनको लागि आउँदैन । सत्संगको महिमा तुलसी दास जीले पनि वर्णन गर्दै भन्नुभएको छ कि सत्संग हामी मानवको लागि महत्वपूर्ण रहेको छ । सत्संग बिना कुनै विवेक हुुन सक्दैन, जबसम्म हामी सत्गुरुको शरणमा आएर विवेकलाई प्राप्ति गर्दैनौ । विवेकबाट नै सत्संगको प्राप्ति हुने गर्दछ । वर्तमान अवस्थामा पनि सन्त–महात्माहरुले अनेकौं प्रकारले सम्झाउने–बुझाउने गर्छन् कि हे भाइबहिनी ! सत्संगमा आउनुहोस, पाएको यो अनमोल मानव चोलालाई सार्थक गर्नुहोस, मानव चोला निकै दुर्लभ छ, यो बारबार पाईदैन । तसर्थ, सत्गुरुको शरणमा मनमा रहेको सम्पूर्ण वैर–भाव, अहंकार, लोभ–मोहलाई त्यागेर शरणागत भइहाल्नुहोस । यस्तो भनिराख्दा यस्ता मानिसहरु पनि भेटिन्छन् कि यस विज्ञान र प्रविधिको युगमा के निरंकार परमात्माको साक्षात दर्शन हुन सक्छ ? उनीहरुको मनमा अनेकौं जिज्ञासाहरुले जन्म लिन थाल्छन् । तर सत्गुरुको कृपाले जुन ज्ञान प्रदान गर्नुभएको छ त्यसलाई सही तरीकाबाट सम्झाउँदा उनीहरुको जिज्ञासालाई शान्त पार्न सकिन्छ, उहाँले बताउनु भयो ।


भवसागरबाट पार तर्नको लागि ब्रम्हज्ञानको नै आवश्यकता पर्दछ । बिना ब्रम्हज्ञानले यो चौरासी लाखयोनिबाट पार तर्न सकिदैन । ब्रम्हज्ञान प्राप्त गर्नको लागि सत्गुरुको शरणमा जानु आवश्यक छ । त्रिलोकको स्वामी भगवान राम हुँदा हुँदै उनले वशिष्ट जीलाई आफ्नो गुरु बनाउनु भयो किनभने संसारलाई देखाउनु थियो कि बिना गुरु कुनै पनि ज्ञानलाई हासिल गर्न सकिदैन । जब राम गुरु वशिष्ट जी भएको ठाउँमा आउनु भयो त्यति बेला गुरु वशिष्ट जी आफ्नो कुटी भित्र हुनुहुन्थ्यो । रामले ढोका घचघच्याउनु भयो तब भित्रबाट गुरु वशिष्ट जीले भन्नुभयो को हुनुहुन्छ ? बाहिरबाट भगवान राम भन्नुहुन्छ कि त्यसै कुरालाई जान्नको लागि त म हजूरको शरणमा आएको छु कि म को हुँ ? भनेर । हामीले पनि गौण गरेर सोचौं कि हामी को हौं ? जो–जो नाम हाम्रो छ, के त्यो हौ हामी ? जोपनि धर्म, जातपाति, सहन–सहन, भेशभूषा हामीसंग गाँसिएको छ, के हामी त्यही हौ ? हामी कहाँबाट आएका हौ र कहाँ जानु छ ? यो निकै ठुलो प्रश्न छ । तर मनुष्यले यस प्रश्नलाई गम्भिरता पूर्वक लिएको छैन किनभने यो माया रुपी संसार हो । मनुष्यले मायापतिलाई भूलिसक्यो, थाह छैन को हो मायापति, जसले यो मायापति संसार बनायो । जुन दिनदेखि मानवको जन्म हुन्छ त्यो दिनदेखि मृत्यु नहुँदासम्म केवल माया एकत्रित गर्नको लागि तल्लिन रहेको हुन्छ । भगवानलाई पाउने प्रयास कसैले गर्दैन । मानव ह्दयमा अनेकौं आशा, तृष्णा, चहान र इच्छाहरुले जन्म लिने गर्दछन् । त्यही आशा–तिष्र्णाको पर्खाइमा मानवले आफ्नो अमूल्य जीवनलाई कौडीको मूल्यमा गुमाउन पुग्छ, उहाँले प्रष्ट पार्नुभयो ।

उनले एक धनाड्य व्यक्तिको उदाहरण दिदै भन्नुभयो कि कुनै एक जान मान्छे ठुलो व्यापारी थियो, त्यससंग प्रशस्त धन–सम्पत्ति थियो । ऊ रातदिन आफ्नो व्यवसायमा मात्र लागि रहन्थ्यो । उसलाई भगवानको नाम लिने समेत फुर्सद थिएन । एक दिन उसकी श्रीमतीले सम्झाउँछिन र भगवानको भक्तिमा लाग्न आग्रह गर्दछिन तर त्यो धनि व्यक्तिले आफ्नो श्रीमतीको कुरा सुन्दैन । जब एक दिन स्वाँस छुट्न समय आयो, त्यो देखेर उसका सबै छोराहरु आए, आफन्तहरु आए । अन्तिम स्वाँस चलिरहेको थियो, उसले आफ्ना छोराहरुलाई बसाल्यो । श्रीमतीले सोची रहेकी थिइकी यस बेला त भगवानको नाम त लिनु पर्ने हो तर त्यो धनि मान्छेले विस्तारै आफ्नो आवाज निकाल्यो । उसले आफ्नो पिएलाई बोलायो र भन्यो मेरो खातामा कति पैसा छ ? त्यस पिएले भन्यो– तपाईको खातामा यति धेरै रकम छ कि त्यसलाई गिन्ती गर्न धेरै समय लाग्ने छ । तर त्यस धनिले जतिदिन लागे पनि गिन्ती गर्न भन्यो । पिएले रातदिन पैसा गिन्ती गर्न थाल्यो, एक हप्ता बितिसक्यो तरपनि गिन्ती गर्न सकेन । गिन्ती गरेर जब पिए आयो र भन्यो कि मालिक हजूरको खातामा त यति धेरै पैसा छकि यो पैसा सात पिढिसम्म पुग्ने छ । उनीहरुले जति पैसा खर्च गरेपनि त्यो पैसा धेरै नै हुने छ । त्यो सुनेर आचनक त्यो धनि मान्छे वेहास भएर भूईमा लड्यो । त्यो देखेर सबै चिन्तित भएकि कतै सेठको मृत्यु त भएन ? सेठलाई पानीको छर्काउ गरियो, बल्ल सेठले आँखा खोल्यो र भन्यो पिए म यस कुराको टेन्सन भएकि मेरो सम्पत्ति केवल सात पुस्तालाई मात्र पुग्ने रहेछ तर आठौ पुस्ताको के गति होला ? म त्यसै कुरामा चिन्तित भएर लडेको हुँ, उसले त्यहाँ उभिएका सबैलाई सुनायो । यसरी मानव यति गहिरो रुपबाट मायासंग लिप्त छ कि त्यसको दलदलबाट माथि उठ्न सकिरहेको छैन । मानव जोकोहि पनि होस, उनीहरुको ह्दयमा आशा तृष्णाको आगो बल्दै गइरहेको छ तर ब्रम्हज्ञानी सन्त–महात्माहरुले यस माया–मोहबाट छुटाउने प्रयास गरिराखेका छन् । सबैमा प्रेमको भाव फैलाई रहेका छन् । सत्गुरु बाबा हरदेव सिंह जीले पनि भन्नुभएको छ कि प्रेमको संसारको स्थापना गर र बैर–नफरतको संसारलाई समाप्त गर तब मात्र यो संसार बच्न सक्छ । तर आज संसारमा प्रेमको कमि छ, घर–घरमा प्रेमको कमि छ । प्रेमको आवश्यकता सबैलाई छ । सत्गुरुले हामीलाई सबैसंग प्रेम गर्न सिकाई रहनु भएको छ । हामी सबै एक पिता परमात्माका सन्तान हौ । परमात्मा एक छ । सत्गुरुले सबै मानवलाई एकत्रित गराएर ब्रम्हज्ञान प्रदान गरेर सबैलाई एक परिवार बनाई रहेको छ, उहाँले बताउनु भयो ।
उक्त सत्संग कार्यक्रममा सुमन एण्ड साथी, नारद, नवीना, अबीला, ऐलीना, गरीमा, हरि प्रसाद, अनु एण्ड पार्टी, पदम, भगवाती, गायक तेज बहादुर, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, कौशिला, धन सिंह, पशुपति, तुलसी, देहरादूनबाट आउनु भएकी शोभा कुमारी ठाकुर, अविनेत, कैलाश, कल्पना रहेका थिए भने कार्यक्रमको संचालन धन बहादुर रोकायले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.