कृषि

अनुदान बीउको धान नफलेपछि…..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, असोज १४ गते । नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ मा धानमा फल नलागेपछि खेती थन्काउने बेलामा किसानहरू मारमा परेका छन् । 

भीरकोट नगरपालिका वडा नं–७ को बलमाटा, मजुवा र झापाकोटको फाँटमा लगाइएको धानमा फल नलागेपछि किसानहरू चिन्तित बनेका हुन । पूरानो र परम्परागत धानको बीउ लगाइरहेका किसानले नगरपालिकाले अनुदानमा उन्नत जातको ‘सावा मन्सुली सव १’ बीउ दिएप्छि हौसिएर किसानहरूले लगाएका थिए । 

बिज्ञापन

यहाँका कृषकहरू सालिकराम अर्याल, खडा नन्द अर्याल, शिवप्रसाद रेग्मी, नारायण अर्याल, मुक्ति अर्याल, चूडामणि अर्याल लगायतले चार सय किलोभन्दा बढी नगरपालिकाले अनुदानमा दिएको उन्नत जातको धानको बीउ लगाउनुभएको थियो । 

कृषक श्यामप्रसाद अर्यालले खेतमा लगाएको धान फुलेर बाला हाल्दै गर्दा धान डढेर बोट समेत मर्दै गएको र यो रोग सिङ्गै फाँटमा फैलिँदै गएपछि अन्य किसानहरू समेत मारमा परेको बताउनुभयो । यहाँ ३२ रुपियाँ ५० पैसामा प्रतिकिलो धानको बीउ अनुदानमा खरिद गरी खेतमा लगाइएको हो । 

आफूहरूले यसअघि हाइब्रिड जातको धान समेत प्रयोग गर्ने गरेको तर नगरपालिकाले स्थानीय स्तरमै उत्पादन गरिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ धान लगाउन भनेपछि लगाएको अर्यालले बताउनुभयो । 

यो धान लगाउँदा थन्काउने बेलामा रित्तो हुनुपरेको बताउँदै अर्यालले नगरपालिकाले उचित क्षतिपूर्ति नदिए आफूहरू आन्दोलनमा जाने बताउनुभयो । 

धानमा फल नलाग्ने, गवारो किरा लागेर फुलेको फूल समेत नष्ट हुने, धानको बोट समेत डढेर मर्दै जाने जस्ता समस्या देखिएपछि किसानहरूले कृषि प्राविधिकहरूलाई धान बाली भएकै खेतमा बोलाएका थिए । 

भीरकोट नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राविधिक मदन केसीले खेतमा लगाइएको धानबालीमा रोग देखिएको र सोको परीक्षण तथा उपचारका लागि आफूले धानको बाला र बोटसहित माटो समेत कृषि प्रयोगशाला पोखरामा पठाएको बताउनुभयो । परीक्षण नतिजा पश्चात् सोही अनुसारको तयारी थाल्ने केसीले बताउनुभयो । 

अनुदानको बीउमा धान नफलेपछि भीरकोट नगरपालिका, कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रदेशमा समेत किसानहरूले भने उचित राहतको व्यवस्था गर्न अनुरोध गरेका छन् । 

तराई, भित्री मधेसमा लगाउने धानको जात लगाइएको र समुद्र सतह भन्दा पाँच मिटरमा लगाउनु पर्नेमा आठ सय मिटरमा लगाउँदा समस्या भएको कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमालले बताउनुभयो । 

धानमा नाइट्रोजन भएको मल धेरै प्रयोग हुँदा रोग बढेको बताउँदै हमालले बिमा नहुँदा क्षतिपूर्ति दिन नसकिएको बताउनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।