दैलेखको नारायणपुरमा भव्य सत्संग सम्पन्न

दैलेख, १४ असोज । दैलेखको नारायणपुरमा भव्य सत्संग सम्पन्न भएको छ । दैलेखको नारायणपुर नगरपालिकाकोवृद्धाश्रममा आयोजित उक्त सत्संगलाई सम्बोधन गर्दै देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले सत्गुरुको आदेशलाई सिरोधार्य गर्दै निरंकारी सन्त समागमको सन्देशलाई तपाईहरु सामु पु¥याउनु आएको बताउँदै सबै सन्त–भक्तहरुलाई समागममा आउन निउतो दिनुभयो । उहाँले भन्नुभयो– सन्त–महात्माहरुले हामीलाई निकै सरलता पूर्वक सम्झाउदै भन्छन् मानव ! यो चोला हामीले किन पाएका हौ ? यसको महत्व के छ ? वास्तवमा मनुष्यको जीवन परमात्माको कृपाबाट नै हामीलाई प्राप्त भएको हो । तर आज मानवले हिरा जस्तो मानव चोला पाएर पनि कौडिको मूल्यमा गुमाई रहेको छ । यहाँ निकै गम्भिर विषय रहेको छ कि के गर्नको लागि परमात्माले हामीलाई मानव जीवन दिनुभएको हो । यसको लक्ष्य के हो ? मानव जीवन पाएर के गर्नु पर्छ ? यसलाई सन्तहरु सम्झाउँछन् कि जीवन पाउनुको लक्ष्य आत्माको पति परमात्माको जानकारी हासिल गर्नुलाई हो । बाँकी कार्य त संसारका मानव प्राणीले आफ्नो जिम्मेवारी निभाउँदै जीवन व्यतित गरिरहेका छन्, उहाँले सम्झाउनु भयो ।

राजा सिकन्दरको उदाहरण दिदै उहाँले भन्नुभयो कि सिकन्दर निकै प्रतापी राजा थियो । उसको मनको एउटै इच्छा थियो कि संसारका सबै मानव प्राणीहरुलाई लुटेर, सबैमाथि विजय प्राप्त गरेर आफ्नो एकलौटी वर्जस्व कायम गरु । चारैतिर आफ्नो राज्यको स्थापना गरु । आफ्नो त्यो उद्देश्य पूर्तिको लागि ऊ अगाडि बढ्यो, उसले बाटोमा अनेकौं निर्दोश व्यक्तिहरुको रगत बगायो । सबैलाई पराजित गरेर आफ्नो मुठ्ठीमा लियो । उसको मनमा अभिमानले आफ्नो डेरा जमाई बसि सकेको थियो । एक दिन राजा सिकन्दर आफ्ना मन्त्रिहरुसंग कुनै ठाउँमा गइरहेको थियो, जतिपनि प्रजाहरु थिए उनीहरुले बाटोमा जय जयकार गरिरहेका थिए । ऊ अभिमानले अरु फुल्दै गइरहेको थियो । म जस्तो वीर यस संसारमा कोहि छैन भन्ने घमण्ड उसको मनमा राज गरिरहेको थियो । त्यतिखेरै उसले एउटा साधु निडरता पूर्वक कुनै प्रवाह नगरेर आफूतिर आइरहेको देख्यो । साधुले सिकन्दरलाई कुनै नमस्कार गरेन । त्यो देखेर सिकन्दरलाई क्रोध आयो र भन्यो यो कस्तो मान्छे हो, लगाउनको लागि शरीरमा लुगा पनि छैन । राजाले त्यसलाई बोलाएर भन्यो कि तिमीले मलाई नमस्कार किन गरेनौ ? सारा संसारले मलाई नमस्कार गर्छ तर तिमीले मलाई गरेनौ ? त्यसको कारण के हो ? ती साधु–सन्तले निडरताका साथ भने कि तिमी जस्तो भिकारी त संसारमा कोहि पनि छैन । जहाँ तिमी अभिमानमा घुमिरहेका छौ, त्यहाँ तिमी संसारको पाप लिएर घुमिरहेका छौ । सिकन्दरले भन्यो यस्तो कुरा आजसम्म मसंग कसैले गर्न सकेको थिएन, यसको कारण के होला ? ती साधु महात्माले उसलाई सम्झाउँदै भन्नुभयो कि तिमीले निर्दोश मान्छेहरुलाई मारेर रगतको खोलो बगायो । आज तिमी आफूलाई सबैभन्दा ठुलो सम्झी रहेका छौ । अलिकता सोच अन्त्यमा यसको परिणाम के होला ? परमात्माले तिमीलाई के फल देलान् । तब सिकन्दरको आँखा खुल्न गयो । यसरी सन्त–महात्माहरुले संसारमा परोपकारको लागि नै कार्य गर्दछन् । जस्तै वर्तमानमा सत्गुरु माता जीको आशीर्वादले सन्तहरु केवल जनकल्याणको, परोपकारको लागि नै कार्य गरिरहेका छन् न कि आफ्नो स्वार्थको लागि । सत्गुरु जहिलेपनि धर्तीमा परोपकार र जनकल्याणको लागि आउने गर्दछन् । जब सिकन्दरको आँखा खुल्यो तब उनले आफ्ना मन्त्रिहरुलाई भन्यो कि जब मेरो पार्थीव शरीरलाई मसानघाटमा लैजालान त्यति बेला मेरो दुईटै हात कफन (कात्रा) भन्दा बाहिर निकालि दिनु ताकि संसारले एक शिक्षा पाओस कि सिकन्दर जस्तो राजा पनि मर्दाखेरी खाली हात जानु परयो । सत्गुरु माता जीले पनि मानवहरुलाई सन्देश दिदै भनिरहनु भएको छ कि ब्रम्हज्ञान प्राप्त गरेर मात्र हामी मोक्षलाई प्राप्त गर्न सक्छौ, त्यसको लागि सत्गुरुको शरणमा आउनु पर्ने छ भनेर उहाँले सम्झाई रहनु भएको उहाँले बताउनु भयो ।


सन्त–महात्माहरुले सम्झाएका छन् कि यदि भगवानलाई खोज्नु वा प्राप्त गर्नु छ भने पहिले यस्तो सत्गुरुको खोज गरौं जसको शरणमा शरणागत भएर हरि दर्शन अर्थात ब्रम्हज्ञानको दर्शन हुन्छ । ब्रम्हज्ञानद्वारा नै साक्षत निराकारको दर्शन हुन सक्छ । सत्गुरुको शरणमा पलभरमा नै निराकारको दर्शन हुन सक्छ तर त्यसको लागि इच्छा प्रवल हुनु पर्दछ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा कृष्णा, जोख बहादुर, जग्गा, नन्दकली, खडक थापा, कौशिला, सुकिला, मुखी जय बहादुर रावल, भगवती, राधा, हरिलाल, समाजसेवी भूपाल थापा, नन्दकलीले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.