लम्कीको मोतीपुरमा सत्संग सम्पन्न

लम्की, २० असोज । लम्कीको मोतीपुरमा सत्संग सम्पन्न भएको छ । उक्त अवसरमा देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले निरंकारी मिशन बोलीबाट होइन, कर्मबाट चिनिने गर्छ । हामी सन्तहरुले बोलीबाट नभएर आफ्नो कर्मबाट आफ्नो चिनारी बनाउनु पर्छ । हामीले सत्गुरुको शिक्षा अनुसार आफ्नो कर्म गर्दै जानु पर्छ । सेवा पनि हामीले सत्गुरुको आदेश अनुसार गर्नु पर्छ । मनमत अनुसार होइन, उहाँले बताउनु भयो ।

सत्गुरु बाबा हरदेव जीको उद्गारलाई उल्लेख गर्दै उहाँले भन्नुभयो कि संसारलाई पर्खाल रहित बनाउनु छभने पहिले आफूले आफूलाई नै समर्पित गर्नु पर्ने छ । भेदभावको पर्खाललाई मेटाउनु पर्ने छ । सबै ठाउँ प्रेम नै प्रेम फैलाउनु छ । त्यस्तै दुई देश बीच सिमाना छुट्टाउनको लागि सिमा रेखा खिचिएको हुन्छ, जसमा एक देश एकातिर छ भने अर्को देश अर्कोतिर छ । त्यो सिमा रेखाले दुई देशलाई त्यहाँबाट छुट्टाएको हुन्छ । तर बाबा जीले भन्नुभयो कि यी रेखाहरु जो खिचिएका छन् ती आपसमा मिलाउनको लागि छन् । यसरी सत्गुरुले सधैं मिलाउने कार्य गर्दछ । आज सत्गुरु माता जी र राजपिता जी संसारमा विचरण गर्दै संसारका मानवहरुलाई गफलतको निन्द्राबाट जगाउने कार्य गर्दै आउनु भएको छ । ब्रम्हज्ञान प्रदान गरेर सबैलाई एक बनाई राख्नु भएको छ, उहाँले प्रष्ट पार्नुभयो ।


कुनै बालक पढेर ठुलो मान्छे त बन्न सक्छ तर त्यसलाई आध्यात्मिक ज्ञान भएको छैन भने त्यो बालक डाक्टर, इंञ्जिनिएर वा ठुलो मान्छे बनेर पनि त्यसको जीवन सार्थक हुन सक्दैन । भौतिक शिक्षाको लागि आध्यात्मिक शिक्षा हुनु आवश्यक छ । यदि कुनै बालकलाई राम्रो शिक्षा–दिक्षा दिएको खण्डमा उसले ठूलो भएर आफ्नो पढाईको सही सदुपयोग गर्न सक्छ, उहाँले बताउनु भयो ।

सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचार धारा हो भन्दै यहाँ सबै जातजाति, धर्म, समुदाय, सानो–ठुलो, धनि–गरीब सबैको एक साझा फूलवारी हो । हामी सबै मानव एक निराकार परमात्माका सन्तान हौ । आज सबैलाई एक सूत्रमा बाँध्ने कार्य निरंकारी मिशनले गर्दै आइरहेको उहाँले बताउनु भयो ।

हामी चरित्र निर्माणको लागि वर्षौ वर्ष लगाई दिन्छौ । यदि हाम्रो भाव, सोचाई, दृष्टिकोण गलत छभने हाम्रो बोल्नु र कर्ममा अन्तर हुन जान्छ । त्यसैले निरंकारी मिशनले बोलीभन्दा कर्मलाई बढी प्राथमिकता दिने गर्दछ । सबै मानव प्राणीहरुसंग प्रेम गर्नु पर्दछ । कोहि हाम्रो आफ्नो–विरानो छैन, सबै आफ्ना छन्, उहाँले भन्नुभयो ।

निरंकारी मिशनमा सत्गुरुको कृपाबाट परमपिता परमात्माको दर्शन एक क्षणमा नै हुने गर्दछ । जस्तै गुरु वशिष्ट जीले भगवान रामभचन्द्र जीलाई भन्नुभएको थियो कि एउटा फूलाई मसल्नुमा ढिलो छ तर प्रभुलाई पाउन त्यति ढिलो छैन । महाभारतको कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई दिव्य दृष्टि प्रदान गरेर विराट स्वरुप निराकारको दर्शन गराउनु भयो, त्यही विराट स्वरुपको दर्शन यहाँ हुने गर्दछ । जहाँ विदेही राजा जनकले गुरु अष्टवक्र मार्फत यस विराट स्वरुप निराकारको दर्शन गरयो, त्यही यहाँ प्राप्त हुन्छ । यसरी आज सत्गुरु माता जी निकै दयालु हुनुहुन्छ जोपनि यस द्वारमा आउँछ, त्यसलाई यस विराट निराकारको दर्शन गराउनु हुन्छ, यहाँ कुनै प्रकारको रोकटोक हुँदैन । मनुष्यको लक्ष्य पनि यहि हो आत्माको पति परमात्मालाई चिन्नु, त्यसको दर्शन गर्नु । जबसम्म आत्माले परमात्माको दर्शन गर्न सक्दैन तबसम्म त्यो चौरासी लाख योनिमा भौतारि रहन्छ, उहाँले सम्झाउनु भयो ।

सत्संग कार्यक्रममा योजन रेग्मी, नमूना एवं साथी, भद्रा रेग्मी, गणेश नेपाली, आँशु भण्डारी, भक्त रावल, गायक ईन्द्र सिंह, ज्ञानप्रचारक नवर सिंह बोहरा, प्रकाश, लेखा शर्मा, आयुषमा एवं निराजन, खेमराज रेग्मी, प्रेरणा एण्ड साथी, केशर, धनञ्जय एवं साथी, ललीत, रतिलाल, करन सिंह, प्रविण, पार्वती, बौनिया भवनका मुखी बिजय सिंह कुँवर, शेर बहादुर, दुर्गा, हिरा सिंह, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल र देहरादूनबाट आउनुभएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन देवराज रिमालले गर्नुभएको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.