दशैँमा सेतो टीका- यस्तो छ परम्परागत र जातीय विशेषता

रुपन्देही । दशैँ भन्नेबित्तिकै धेरैले रातो टीका र जमरा भनेर बुझ्ने गर्दछन् तर अधिकांश जनजाति र समुदायमा दशैँमा सेतो टीकाको प्रयोग हुन्छ ।
नेपालमा समुदायअनुसार दशैँमा लगाइने टीका फरक फरक हुने गरेको संस्कृतिविद्हरूको भनाइ छ । जनजाति समुदायले दशैँलाई रङ्गहरूको प्रयोगभन्दा पहिले मनाउन थालेको र प्राकृतिक रूपमा दही र चामलको टीकाको विशेष अर्थ रहेकाले जनजाति समुदायले यसलाई प्रयोग गरेको विश्लेषण धेरैको छ ।

प्रकृति र आदिम जातिको सम्बन्ध, अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतो भएकोले त्यसको प्रयोग, देवीदेवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भएको भन्दै सेतो रङसँग प्राकृतिक सम्बन्ध भएकाले त्यही सम्बन्धलाई कायम राख्न आदिवासीहरू सेतो रङको प्रयोग गर्ने गरेको विश्लेषण संस्कृतविद्हरूको छ ।
त्यसो त सेतो टीका कहिलेदेखि कसले लगाउन शुरू भएको भन्ने लिखित दस्तावेज र प्रमाण केही गरिएको छैन यसलाई सबैले पुर्खाबाट चल्दै आएको बताएका छन् । धेरै आदिवासी जनजातिहरूले शुभ कार्यमा लगाइने गरेको सेतो टीकालाई कहिलेकाहीँ विशेष परिस्थितिमा बाहुनक्षेत्रीले पनि लगाउने गरेको पाइए पनि त्यसको प्रमाणिक तथ्य भेटिएको छैन ।
अधिकांश आदिवासी जनजातिले प्रयोगमा ल्याउने सेतो टीकालाई यहाँका भूमि पुत्र आदिम बासी थारुहरूले दशैं, तिहार तथा अन्य बेला देवीदेवतालाई लगाइदिने गरेको थारु अगुवाहरूको भनाइ छ ।
पौराणिक कालदेखि थारुले सेतो टीकालाई प्रयोगमा ल्याउँदै आएको थारु संस्कृतिको अध्ययन गरिरहेका कृष्णराज सर्वाहारी बताउँछन् । अहिले फाट्टफुट्ट रूपमा देखासिखीमा रातो टीका प्रयोगमा आए पनि सेतो टीका नै थारु समुदायको प्राचीन सभ्यता र प्रचलन रहेको उनको भनाइ छ । आदिवासी जनजातिभित्र पर्ने थारु, नेवार, मगर, गुरुङलगायतका सबै आदिवासीले सेतो टीका अङ्गीकार गरेको पाइन्छ ।
संस्कृतविद् घनश्याम कोइरालाका अनुसार आदिवासीहरू रङको विकास भइसक्नु अगावैबाट यो संस्कृतिको थालनी गरेको प्रमाण सेतो टीकाको प्रयोगले दिने बताउँछन् । ‘त्यो बेला एउटा सेतो रङ थियो । जुन प्रकृतिको उपहार थियो, सेतो रङ प्राकृतिक रङ हो ।, यो प्रयोगले आदिवासीको इतिहासबारे प्रष्ट हुन्छ’ उनले भने ।
जानकारहरूका अनुसार सेतो रङ चोखो र प्राकृतिक रङ मानिन्छ । यही चोखो रङको प्रभाव आदिवासीमा परेको हो । त्यसैले थारु जातिको पुरानो पहिरन पनि सेतो नै छ । चाहे विवाह गर्दा होस् । मृत्यु हुँदा होस् या अन्य बेलामा । महिला तथा पुरुषले लुङ्गी, लँगौटी, धोती या चोलो सबै सेतो नै लगाउने गर्दछन् ।
थारु समाजमा विशेष चाडबाडमा सेतो पहिरनमै महिला पुरुषहरू सजिने गरेको थारु संस्कृतिका अगुवा कृष्णराज सर्वाधारीको विश्लेषण छ । हिन्दू धर्म मान्नेहरूले सेतो टीकालाई अशुद्धिको रूपमा प्रयोग गर्छन् । चाडबाडमा जाँड, रक्सी, सुँगुर छुनु पनि हुँदैन, भन्छन् । तर, आदिवासी जनजातिहरूलाई ती चिज नभई हुँदैन । अहिले भने धेरै ठाउँमा मिश्रित समुदाय बस्ने भएकाले त्यति धेरै कट्टर भने देखिँदैनन् सबै समुदायमा व्यक्तिहरू ।
यद्यपि थारुलगायतका आदिवासीहरू अझ हिन्दू र बौद्ध दुवै धर्म मान्दै आएका छन् । कतिपयले सेतो टीकालाई शान्तिको प्रतीक मान्छन् । जुन टीका गौतमबुद्धले पनि ग्रहण गर्दै आएका थिए । तथापि गौतमबुद्धले कहींकतै सेतो टीकाको महिमाबारे प्रस्ट्याएका छैनन् ।
निधारमा लाउने टीकाले मन शुद्ध हुन्छ । वीरताको संकेत गर्छ अर्थले हेरिन्छ । मानिस विजय प्राप्त गर्दा होस् या नयाँ कामको सुरुवात गर्न टीका लगाउने गर्छन् । लामो यात्रामा जाँदा होस् या भगवानको पूजा गरी प्रसादीको रूपमा प्रायः टीका लगाइन्छ । थारु, मगर, तामाङ र अन्य केही जनजातिहरूले पनि दशैँमा सेतो टीका लगाउने गरेको विश्लेषकहरूको बुझाई छ ।
संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार जनजातिहरूमा सिक्किम, दार्जिलिङतिरका राई, लिम्बू, लेप्चा, भुटिया आदि जातिमा र नेपालकै पनि मगर, गुरुङ, तामाङ, राई, लिम्बू, लेप्चा आदि जातिहरूमा उनीहरू मुख्य रूपमा मांसाहारी भएर पनि प्रायः दही अछेताकै टीका लगाउँछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
