अवर्गीकृत

कीर्तिपुरको डाँडोमा ल्यापटप बोकेर…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा चर्को आवाजमा बोल्छन्, तर उडन्ते र हावादारी कुरा गर्दैनन् । प्रायः तथ्यमा टेकेर बोल्ने हुँदा उनका अभिव्यक्तिमा प्रश्न उठाउने मौका विरोधीले कमै पाउने गरेका छन् ।

केही दिनदेखि थापाको एउटा भाषणले बजार तताइरहेको छ । कीर्तिपुरमा गरेको एउटा चुनावी भाषणका क्रममा बोलेको कुरालाई लिएर उनले निकै ट्रोलको सामना गर्नुपर्‍यो । थापाले पनि अरु नेता जस्तै हावादारी गफ दिन थालेको टिप्पणी आलोचकहरूले गरिरहेका छन् ।
उपचुनावमा कीर्तिपुरवासीसँग आफ्ना उम्मेदवारलाई भोट माग्ने क्रममा थापाले मासिक ३-४ लाख रुपैयाँ कमाउन सकिने सपना देखाएका थिए ।

बिज्ञापन

चुनावीसभामा बोल्दै थापाले गरेको सम्बोधनको विवादित अंश यस्तो छः

‘कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ । जसको घरबाट निस्किएका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि… यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन् … ।’

के थापाले साँच्चै हावादारी गफ नै दिएका हुन् ? उनले भने जस्तो एउटा ल्यापटपका भरमा मासिक ३-४ लाख देशभित्रै कमाउन सकिने वातावरण बन्ला त ? सूचना प्रविधि क्षेत्रका विज्ञहरू यो कुनै असम्भव परिकल्पना नभएको बताउँछन्, तर ठूला भाषणमात्रै गर्ने, काम नगर्ने परिपाटीले गर्दा नेताहरूको अभिव्यक्तिमा जनताको विश्वास उडेको उनीहरूको भनाइ छ ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा सम्भावना धेरै रहेको बताउँछन् नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) का अध्यक्ष सन्तोष कोइराला ।

उनले भने, ‘गगन थापाको भनाइ गलत होइन । जनताको नेतासँग विश्वास उडेका कारण ट्रोल बनाइएको मात्र हो । नेताको मुखबाट त्यो भनाइ निस्किएकाले नसुहाएको जस्तो देखिएको हो, तर उनले भनेको कुरा असम्भव होइन । नेपालमा सूचना प्रविधिको क्षेत्रमा राम्रो छ । अहिले पनि यस क्षेत्रमा लाग्नेहरूले राम्रो आम्दानी गरिरहेका छन् ।’

गगन थापाले आईटी उद्यमीहरूको भाषा बोलेको कम्प्युटर एसोसियसन नेपाल महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दारको भनाइ छ ।

उनी भन्छन्, ‘केही दिन अगाडि गगन थापाले बोलेको कुरा कति वर्षदेखि हामीले भन्दै आएका हौं । सूचना प्रविधिमा नेपालमा राम्रो सम्भावना छ, यसका लागि सरकारले ध्यान दिनुपर्छ भनेर हामीले भनिरहेका छौं ।’

नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको विभिन्न अध्ययनले पनि देखाएका छन् । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले गरेको एक अध्ययनअनुसार सूचना प्रविधिबाट नेपालमा दुई देखि १५ हजार अमेरिकी डलरसम्म वार्षिक आम्दानी गर्नेहरू छन् ।

आईआईडीएसले सन् २०२२ मा गरेको उक्त अध्ययनअनुसार नेपालमा ६६ हजारभन्दा बढीको आईटी जनशक्ति छ, जुन संख्या कम्पनीमा तथा स्वतन्त्र रुपमा काम गर्नेहरूको हो । उक्त जनशक्तिमध्ये क्लेरिकल डेटा इन्ट्रीमा ७ हजार २१२ जना रहेको देखिन्छ । उनीहरूको वार्षिक कमाइ २ हजार ८१० डलर रहेको उक्त अध्ययनले देखाएको छ । सन् २०२२ पछि भने यस्तो अध्ययन भएको छैन ।

मध्यमस्तरको दक्षता भएको व्यक्तिले औसत ६ हजार ३९५ डलर तथा सिनियर लेभलका व्यक्तिले १५ हजार ३२२ डलर आम्दानी गरिरहेको उक्त अध्ययनले देखाएको छ । फ्रिल्यान्सरहरूले भने वार्षिक औसत ४ हजार ७२३ अमेरिकी डलर कमाउने गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।