माधव र वामदेवबिच पार्टी एकताको समझदारी

एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानबिच एकताको सैद्धान्तिक समझदारी भएको छ । सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा थप छलफल गरेर टुंग्याउने र छिट्टै एकता गर्ने समझदारी बनेको हो ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा बुधबार दुवै पार्टीका शीर्ष नेताहरूको बैठकमा एकता समझदारी भएको हो । समझदारीअनुसार अभियानका अध्यक्ष गौतम एकीकृत समाजवादीका वरिष्ठ नेता हुनेछन् ।

गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरीयता दिइनेछ । हाल एकीकृत समाजवादीमा डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल वरिष्ठ नेता छन् । गौतमको जिम्मेवारी र अभियानका अन्य नेतालाई कुन कमिटीमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा फेरि छलफल हुने भएको छ । अभियानका उपाध्यक्ष सात, महासचिव एक, उपमहासचिव एक, सचिव एक, कोषाध्यक्ष एकसहित ८९ सदस्यीय केन्द्रीय सदस्यको व्यवस्थापनका लागि दुई पार्टीबिच फेरि छलफल हुनेछ ।
पार्टी एकताको समझदारी विकास भएको र छिट्टै एकता हुने गौतमले बताए । ‘समझदारी विकास गर्ने भन्ने भयो । यो त एउटा सानो पक्ष हो । यसैलाई खोल्नेबित्तिकै कति धेरै कुरा आउँछन् । जुन दिन अब यस्तो भयो भन्ने घोषणा गर्छौँ, त्यो दिन तपाईंहरूलाई बताउँछौँ– हामीले यसरी एकता गर्यौँ भनेर एकताको लागि धेरै समय कुर्नु नपर्ला,’ गौतमले भने ।
एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले एकताको सैद्धान्तिक समझदारी भएको बताए । सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा छलफल गरेर जाने उनले जानकारी दिए । ‘एकता गर्ने सैद्धान्तिक समझदारी भयो । सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा छलफल गरेर जान्छौँ । उहाँलाई वरिष्ठ नेता बनाउने समझदारी भयो । कामको जिम्मेवारी के दिने भन्ने विषयमा थप छलफल हुन्छ । अरू नेतालाई कुन कमिटीमा व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ,’ ज्वालाले भने ।
यसअघि, एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेर गौतमले नेपालसँग दुई सर्त राखेका थिए । आफूलाई सक्रिय भूमिका र संसदीय व्यवस्था फेर्नुपर्ने सर्त गौतमको थियो । गौतमको पहिलो सर्त पूरा भए पनि दोस्रो सर्त भने पूरा नहुने भएको छ । शासकीय स्वरूपबारे छलफल गर्दै जाने समझदारी बनेको छ ।
त्यसअघि नेपालसँगको छलफलमा गौतमले भनेका थिए, ‘सानातिना विषयले जनता आकर्षित हुँदैनन् । हामीले अन्तर्राष्ट्रिय विषय बन्ने गरी आन्दोलन अगाडि बढाउनुपर्छ । संसदीय व्यवस्था असफल भयो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाऔँ र पूर्ण समानुपातिक र सामूहिक उत्पादन प्रणालीमा जाऔँ ।’
नेपालले गौतमलाई सचिवालयका नेतासहित छलफल गर्ने जवाफ दिएका थिए । नेपालले एकीकृत समाजवादी गठन गरेपछि गौतमले एमालेबाट राजीनामा दिएर पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
