सुदूरपश्चिम प्रदेश

जातीय विभेदको तितो यथार्थ : आमा गुमाएका प्रकाश दमाईले पाएनन् मलामी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी। समाजमा बस्नेका लागि सबैभन्दा नजिकका आफन्त भनेकै छिमेकी हुन्।  बैतडीको  सिगास गाउँपालिका-१, अङडेगाडा गाउँ। जहा ३० वर्षीय प्रकाश टेलर आमाको पार्थिव शरीर अगाडि राखेर मलामीको प्रतीक्षामा बसेका थिए।तर आङडेगाडाका प्रकाश दमाई (टेलर) लाई छिमेकी काम लागेनन्।  प्रकाशका लागि छिमेकी मलामीसम्म बन्न सकेनन्। समाजले बनाएको जातको पर्खाल यति कठोर रहेछ कि आमाको शव उठाउनसमेत कोही आएन।

प्रकाशकी आमा ६१ वर्षीया माना टेलर मधुमेहबाट पीडित थिइन्। शनिबार बिहानै उनको निधन भयो। प्रकाशकी आमा माना दमाईको शव दुई दिनदेखि आँगनमा छ। औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी पुगे तर, मलामी बन्न तयार भएनन्। प्रकाश गाउँमै रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । उनले पढाउँदा दमाई जातले छेकेन। तर आमा मर्दा उनी एक्लो भएका छन्। मलामी भएर गइदिने मान्छे भेट्टाएनन्।

बिज्ञापन

 गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, लोहार, चुनारा, सार्की जाति बसोबास गर्छन् ।  दलितभित्रकै विभाजनले गर्दा मानाको शव उठाउन कोही राजी भएन। गाउँले उपस्थित पनि भए तर मलामीको पंक्तिमा कोही पनि उभिएनन्। कुनै पनि छिमेकीले मानवता नै देखाएनन्।

प्रकाशले भक्कानिँदै भने, “मलामी जाने कोही भए आधा घण्टाको दूरीमा रहेको ढणालीगाडमा आमाको अन्त्येष्टि गर्न सकिन्थ्यो। तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा म एक्लिएको महसुस गरिरहेको छु।”

प्रकाशका ७२ वर्षीय बुबा श्रीमतीको मृत्युपछि शिथिल बनेका छन्। शरीरले साथ नदिने भएकाले ओछ्यानमै लडिरहेका छन्। प्रकाश आफैं  शिक्षक समाजलाई शिक्षाको उज्यालो दिन्छन्, तर उनको आफ्नै घरमा मृत्युको घडीमा समाजले उनलाई साथ दिएन।प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त र दोधाराचाँदनीबाट काकाका छोरा बोलाए। जो आइतबार मात्रै घटनास्थलमा पुग्नेछन्। पुगेपछि दाजुभाइ मिलेपछि शव उठ्नेछ।

यता वडाध्यक्ष रामचन्द्र ऐरीले जातीय विभेदकै कारण शव नउठेको हो कि होइन भन्नेबारे आफूलाई जानकारी नभएको बताए। तर, दमाई परिवारले गाडीको व्यवस्थापन गरिदिन आग्रह गरेकाले त्यसको व्यवस्थापन गर्न लागिएको ऐरीको भनाइ छ। वडामा शव वाहन छैन। छिमेकी पाटन नगरपालिकाबाट ल्याउने तयारी भएको वडाध्यक्ष ऐरीको भनाइ छ।

स्थानीय बासन्त विश्वकर्माले साँझ आठ बजेतिर आफ्नै ट्र्याक्टर दिने सहमति जनाएपछि बल्ल मानाको शव घाटसम्म पुर्‍याउने सम्भावना बनेको थियो।“शव बोक्न मान्छे नभएपछि गाडी नै खोज्नुपर्‍यो,” प्रकाशले भने, “अब आइतबार दाहसंस्कार गर्नेछौं।”

यो केवल एउटा घटनामात्र होइन, जातीय विभेदको कठोर वास्तविकता हो। मृत्युपछि सबै समान हुन्छन् भनिन्छ, तर यहाँ समाजको सोच अझै पनि बाँझिएको देखिन्छ। प्रकाश टेलर शिक्षक भएर समाजलाई शिक्षित बनाइरहेका छन्, तर उनको आफ्नै समाजले उनलाई अपहेलित गर्‍यो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।