चिसापानीको होटेलमा छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा

धनगढीः कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टलाइ छात्राहरूमाथि यौन जन्य हिंसा गरेको आरोपमा कारबाही गरिएको हो। विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासोसहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको छ। जनप्रिय माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्राले भट्टलाई पदबाट हटाएको बताए। उनले गौरीगंगा नगरपालिकालाई समेत जानकारी पठाएको बताएका छन्। विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै भट्टलाई पदबाट हटाएको हो। उनले भने, ‘हामीले पदबाट हटाएका छौ। नगरपालिकामा निर्णय पठाएका छौ। अहिले कामचलाउ रूपमा दिपेन्द्र खड्कालाई प्रअ राखेका छौ।’

जनप्रिय माध्यमिक विद्यालयमा जयबहादुर बयलकोटीलाई प्रधानाध्यापक बनाउने तयारीमा समिति रहेको उनले बताए। तर, बयलकोटीले खड्कालाई प्रधानाध्यापक बनाउन भनेपछि उनलाई बनाएको टेर्राले बताए। छात्रामाथि यौन हिंसा गरेको आरोप लागेका भट्टलाई विद्यालय व्यवस्थापन समितिले माफी नदिएको उनले बताएका छन्। फागुन २ गतेका दिन मसुरियाबाट चिसापानीसम्म छात्राहरूलाई लगेर, उनीहरूमाथि यौन हिंसा गरेको आरोप लागेका भट्टले नै खुट्टा ढोगेर माफी मागेका टेर्राले बताए। उनले भने, ‘हामीले प्रअलाई खुट्टा ढोग्न लगाएका होइनौ। हामी विद्यालयमा थियौ। हामी निर्णय गर्न गएका थियौ। तर, उहाँले आफैले विद्यार्थीहरू बोलाएर, माफी मागेर, खुट्टा ढोग्ने के–के काम गर्नु भयो।’
नगरपालिकाले थप निर्णय लिनुपर्ने उनले बताए। टेर्राले भने, ‘नैतिकताले पनि उहाँले राजीनामा दिनुपर्ने हो, राम्रो हुने थियो। तर, दिनु भएन। पदमा राखि रहँदा विद्यालयको शैक्षिक वातावरण खलबलिने अवस्था भयो। उहाँलाई हामीले पदमुक्त गरेका छौ। अहिले दीपेन्द्रकुमार खड्कालाई प्रअमा राखेका छौ।’
विद्यालयका निमित्त प्रधानाध्यापक भट्टबाट यौन हिंसामा परेको आरोपसहित निवेदन दिएका छात्राले भने माफी दिएकी छन्। विद्यालय व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, मसुरिया र लम्कीमा निवेदन दिएकी उनलेले न्यायिक लडाइ छोडेकी हुन्। उनीहरूको बिचमा मिलापत्र गरिएको छ।विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीदत्त भट्टले कपोलकल्पित घटना रहेका बताए। उनले भनिन्, ‘एकै जना केटीलाई लगेर गएको होइन। मैले घुम्न जाउ पनि भनेको छैन। निवेदन दिने केटीले नै घुम्न जाउँ भनेको हो। झुटाकुराहरू निवेदनमा छन्। उनीहरूलाई मैले घुम्न जाउँ भनेको प्रमाणहरू छैनन्। हामीले चिसापानीमा कुनै गलत पनि गरेका छैनौ। गलत कुरा भनेको पनि छैन। नभएका कुराहरू राखिएको छ। मलाई प्रअबाट हटाउन राजनीति गरिएको हो।’
तर, शिक्षक भट्टले छात्राको खुट्टा छोएर माफी मागेपछि घटनामा मिलापत्र भएको थियो।
चिसापानीको होटेलमा राति छात्रासँग जन्म दिन मनाउने प्रअको प्रस्ताव
कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टको फागुन २ गते जन्म दिन हो।
जिल्लाको गौरीगंगा नगरपालिका–८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टले जन्म दिन मनाउने योजना बनाए। उनले चौधरी थरकी एक छात्रालाई घोडाघोडी तालमा आफ्नो जन्म दिन मनाउने योजना सुनाए। उनलाई फोन गरे। म्यासेन्जरमा पनि आफूसँग घोडाघोडी जान प्रस्ताव गरे।
चौधरी थरकी छात्राले एक्लै जान इन्कार गरिन। भट्टले अन्य शिक्षकहरू पनि जाने बताए। छात्राले पनि साथीहरू लैजाने भनिन्। शिक्षक भट्ट तयार भए। उनले पनि अर्काे शिक्षकलाई खबर गरे। आफ्नै शिक्षकको जन्म दिन मनाउन २ छात्राहरू घोडाघोडी तालसम्म जान तयार भए। तर, शिक्षक भट्टले मसुरियादेखि पहलमानपुरसम्म गाडीमा आउन भने। भट्ट र उनका साथी २ वटा मोटरसाइकलमा पहलमानपुर पुगे।
उनीहरूको योजना घोडाघोडी तालमा जन्म दिन मनाउने थियो। जनप्रियका निमित्त प्रधानाध्यापक भट्ट र उनका साथीले छात्राहरूलाई मोटरसाइकलमा राखे। भट्टको मोटरसाइकलमा चौधरी थरकी छात्रा बसिन। उनको साथीको मोटरसाइकलमा अर्की छात्रा बसिन्। तर, शिक्षकहरूले छात्रालाई घोडाघोडीमा रोकेनन्। उनीहरूको मोटरसाइकल सुखड तिर गयो। छात्राहरू बोलिनन्। शिक्षकहरूको योजना चिसापानी जाने थियो। तर, छात्राहरूले इन्कार गर्ने भेउ पाएका उनीहरूले भनेका थिएनन्। सुखड भन्दा अगाडि मोटरसाइकल पुगेपछि छात्राहरूले सोध्न थालिन।
तर, शिक्षकहरूले अली परसम्म पुगेर फर्किने भन्दै झुटो बोले। शिक्षकहरूले मोटरसाइकल नरोकेपछि छात्राहरूले पटक–पटक प्रश्न गरिन। शिक्षकहरूले जवाफ दिनु पर्ने भयो। शिक्षकहरूले चिसापानीसम्म पुगेर फर्किने बताए। छात्राहरू मोटरसाइकलमा बसी रहे। उनीहरूले मोटरसाइकल लम्कीको जङ्गलमा रोके। भट्टले साथीसँग मजाक गर्न थाले। साथीले मोटरसाइकलमा राखेकी छात्रासँग जोडि मिलेको भन्न थाले। शिक्षकहरूको बिचमा हाँसो मजाक भयो। छात्राहरूको मनमा डर थियो। भट्टले जङ्गल तिर हात देखाउदै ‘अब कता जाने हो र ? यतै जाउँ,’ भन्न थाले। भट्टका साथी हाँसे। केही बेरको मजाकपछि उनीहरू चिसापानी तिर लागे।
उनीहरूको बिचमा कर्णाली चिसापानी नपुग्दै बाटोमा कुराकानी हुन थाल्यो। निमित्त प्रधानाध्यापक भट्टका शिक्षक साथीले ‘तिम्रो साथीको बाइफ्रेन्ड छ की नाइ ?’ भनेर प्रश्न गरे। भट्टको मोटरसाइकलमा सवार छात्राले छैन भन्दै उत्तर फर्काइन। भट्टको मोटरसाइकलमा सवार छात्राले भनेकी थिइन, ‘नाई छैन। उनी त्यस्तो बोइफ्रेन्ड बनाउने मान्छे होइनन्।’ भट्टका शिक्षक साथीले फेरि प्रश्न गरे, ‘मलाई झुट बोल्छौ ? किन नहोला र यति राम्रो छन।’
शिक्षक भट्टको मोटरसाइकलमा बसेकी छात्रा र उनका साथीको बिचको संवाद अझै सकिएन। उनले फेरि प्रश्न गरे, ‘उसले कुर्ता भित्रबाट केही लगाएको छ कि छैन ?’ भट्टका शिक्षक साथीले प्रश्न गर्दै गए। तर, उनको मोटरसाइकलमा सवार छात्रा बोलिनन्। उनीहरू चिसापानी पुगे। भट्टको मोटरसाइकलमा सवारी छात्राका लागि हुड्डी खरिद गरियो। भट्टले भने, ‘मेरो जन्म दिनमा तिमिलाई उपहार!’
शिक्षकहरू मोटरसाइकल पार्किङमा राख्ने भन्दै गए। छात्राहरूलाई कर्णाली पुल तिर जान भनियो। छात्राहरू कर्णाली पुल तिर गए। तर, शिक्षकहरू लामो समयसम्म कर्णाली पुलमा आएनन्। लामो समयपछि छात्राहरू भएको ठाउँमा शिक्षकहरू पुगे। उनीहरूले कर्णाली पुलमा फोटोहरू खिचे। छात्राहरूलाई शिक्षकहरूले नास्ता खान जाने प्रस्ताव गरे। उनीहरू होटेल तिर लागे।
शिक्षकहरूले फेरि अर्काे प्रस्ताव गरे। छात्राहरूलाई टीकापुर जान भने। छात्राहरूले इन्कार गरेपछि होटेलमा समय खर्च गर्न थाले। राति यतै बास बस्ने प्रस्ताव पनि उनीहरूले गरे। मोबाइल बन्द गर्न भने। घरमा फोन गरेर साथीको घरमा भएको जानकारी दिन भने। राति साथीको घरमा नै बस्ने भनेर झुट बोल्न छात्राहरूलाई शिक्षकले भनेका थिए। छात्राहरू दोधारमा भए। शिक्षकहरूले आश्वासन दिन थाले। उनीहरूले छात्रालाई भनेका थिए, ‘साथीहरूको घरमा भनेर भनेपछि परीक्षामा पास गराउने जिम्मा हाम्रो।’
शिक्षकहरूले छात्राहरूलाई प्रलोभनमा पार्न थाले। शिक्षकले आफ्नै विद्यार्थी छात्राहरूलाई होटेलमा रातिको समयमा सँगै राख्ने योजना सुनाए। छात्राहरूलाई फकाउन थाले। उनीहरूलाई दुर्व्यवहार गर्ने थाले। छात्राहरूले यौन दुर्व्यवहार गर्न खोजेको प्रस्ट बुजिसकेका थिए। छात्राहरूले असुरक्षित महसुल गरे। उनीहरू होटेलबाट भागे। शिक्षकहरूले उनीहरूलाई पटक–पटक फोन सम्पर्क गरे। छात्रालाई होटेलमा फर्किन भने। तर, छात्राहरू होटेलमा गएनन्। उनीहरू चिसापानीबाट एक किलोमिटर लम्कि तिर पैदल हिडेर आए।
साँझको समय थियो। सार्वजनिक गाडी भेटिएनन्। उनीहरूले कुखुरा बोकेको गाडी रोके। लम्कीसम्म कुखुरा बोकेको गाडीमा फर्किए। छात्राहरू लम्की पुगेको जानकारी पाएका शिक्षकहरूले सँगै मसुरिया फर्किन प्रस्ताव गरे। तर, छात्राहरूले मानेनन्। शिक्षकहरूदेखि तर्सिएकी छात्राहरूले अर्काे मान्छे बोलाइन। छात्राहरू रातिको १० बजे मात्र घर पुगिन। फागुन २ गतेको घटनाको विषयमा एक छात्राले फागुन १० गते मात्र विद्यालय व्यवस्थापन समितिमा कारबाहीका लागि निवेदन दिइन। इलाका प्रहरी कार्यालय, मसुरियामा पनि न्यायका लागि भन्दै निवेदन दिइन। इलाका प्रहरी कार्यालय, मसुरियाले मालाखेतीमा निवेदनको विषयमा जानकारी गराएको बताएको छ। इलाका प्रहरी कार्यालय, मालोखेतीले चिसापानीको घटना भएकाले लम्कीमा दर्ता गर्न भनेको हो।
तर, छात्राहरूको निवेदनमा न्यायिक कारबाही भएन। उनीहरूको बिचमा उल्टै मिलापत्र गरिएको छ। विद्यालय व्यवस्थापन समितिले निवेदन दिने छात्राको खुट्टामा ढोग गर्न लगाएको हो। शिक्षक भट्टले छात्राको खुट्टा छोएर माफी मागेपछि घटनामा मिलापत्र भएको विषय सार्वजनिक भएको छ। विद्यालयमा शिक्षकहरू र विद्यार्थीको बिचमा १६ वर्षीया छात्राको खुट्टा ढोगेर भट्टले माफी मागेका हुन्। छात्राको खुट्टा भट्टले ढोगेपछि घटना ढिसमिस भएको छ।
यता, जनप्रिय माध्यमिक विद्यालय, लिक्माका निमित्त प्रधानाध्यापक भट्टलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
